काठमाडौं– अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौता संसद्बाट पारित गर्न लागिएको भन्दै बुधबार संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारी र प्रहरी आमने–सामने हुँदा नयाँ बानेश्वर क्षेत्र बुधबार रणमैदानजस्तै बन्यो।
सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु समेत सहभागी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो।
बुधबार बिहानपछि माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरु नारा–जुलुससहित नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अगाडि बढेका थिए। प्रहरीले उनीहरुलाई संसद् भवन नपुग्दै एभरेस्ट होटल नजिक रोकेको थियो।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र समेत तोडेर संसद् भवन भएको क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यासदेखि पानीका फोहोरासम्म प्रहार गर्यो।
प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुङ्गामुडा गरेका थिए।
सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी यथास्थितिमा (संशोधन नगरी) पारित गर्न नहुने पक्षमा छन्। गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौता खारेज हुनुपर्ने पक्षमा छ।
यस्तै, विभिन्न कम्युनिस्ट पार्टी र राजतन्त्रको पक्षमा वकालत गर्ने राप्रपा लगायतका पार्टीहरु पनि एमसीसीको विपक्षमा छन्।
संसद्बाट एमसीसी पास गर्न लागिएको भन्दै बुधबार ५ कम्युनिस्ट पार्टीले देशव्यापी बन्दको समेत आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।