काठमाडौं- भारतले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन र समापन समारोहमा आफ्ना दूत नपठाउने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले गलवान उपत्यकामा भएको झडपमा संलग्न आफ्ना सैनिकलाई चीनले ओलम्पिक टर्च बोक्न दिएको भन्दै सरकारले दूत नपठाउने निर्णय गरेको जानकारी दिए।
बिहीबार उनले भने,‘चीनले पनि ओलम्पिकलाई राजनीतिकरण गर्ने निर्णय गर्नु दुर्भाग्यपूर्ण छ। बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन वा समापन समारोहमा भारतीय दूतहरूले भाग लिने छैनन्।’
सन् २०२० मा गलवान उपत्यकामा भएको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो। यसैबीच चीनले आफ्ना ४ सैनिकको मृत्यु भएको दाबी गरेको छ।
बुधबार गलवान हिंसामा संलग्न एक सैनिकलाई बेइजिङ शीतकालीन ओलम्पिकको परम्परागत टर्च रिलेमा समावेश गरिएको थियो। झडपमा यी सैनिक घाइते भएको बताइन्छ।
विदेश मन्त्रालयको यो निर्णयपछि दूरदर्शनको खेलकुद च्यानलले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन र समापन समारोहको पनि प्रत्यक्ष प्रसारण नगर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।