काठमाडौं- झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटना पक्राउ परेका एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंले नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय उमा शाही ठकुरीलाई कर्तव्य ज्यानसम्बन्धी कसूरमा तत्काल पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाएको हो।
उनको सहयोगी नाबालिकालाई भने बाल सुधारगृह भक्तपुर ठिमी पठाइएको प्रवक्ता तथा प्रहरी उपनिरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
गत पुस २४ गते बिहान ०६:०० बजे सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिका ठकुरीले झारफुक गर्ने क्रममा बेहोस भएकी थिइन्।
बेहोस भएकी बालिकालाई उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। तर, अस्पतालमै बालिकाको मृत्यु भएको थियो।
सो खबर पाएपछि महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको टोलीले ठकुरी र उनको सहयोगी नाबालिकालाई पक्राउ गरेको थियो।
प्रहरीले उनीहरुलाई ‘कर्तव्य ज्यान’ सम्बन्धी कसूरमा अनुसन्धानको दायरामा ल्याई सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी रायसहितको प्रतिवेदन सरकारी वकील कार्यालय, बबरमहलमा बुझाएको थियो। उक्त प्रतिवेदन सरकारी वकीलबाट मंगलबार १८ गते जिल्ला अदालतमा पेश भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।