काठमाडौं– हाम्रो पात्रो एपले ल्याएको टेलीहेल्थ सेवामा तीन महिनामा ५०० भन्दा बढिले सेवा लिएका छन्। तीन महिना अघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरूमाझ लिएर आएको हाम्रो पात्रोमा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन्।
आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने, विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधालाई माया दिएका कम्पनीले जनाएको छ।
यसरी ५०० कल पूरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको छ भने भक्तपुर, काठमाडौं र पोखराबाट धेरै कल आएको छ।
हाम्रो पात्रो, इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गरेका छन्। ‘यति छोटो समयमा प्रयोगकर्ताहरूले हामीलाई देखाउनुभएको विश्वास स्रहानीय छ। म सम्पूर्ण प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु। उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषताहरू थप्न हामीलाई थप हौसला प्राप्त भएको छ,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा वीज्ञ डाक्टरको परामर्श दिनु हो।’
स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सीमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुने कम्पनीको विश्वास छ।
त्यसबाहेक, प्रयोगकर्ताहरूले फलोअपको लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमा नै अप्वाइटमेन्ट लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै सञ्चालनमा आउन लागेको बताइएको छ।
टेलीहेल्थ सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र २०० रूपैयाँमा विज्ञ डाक्टरसँग परामर्श लिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।