काठमाडौं । मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा प्रोटोनको ई.मास ५ सर्वाधिक बिक्री हुने मोडल बनेको छ। सन् २०२६ को अक्टोबरमा भएको कुल विद्युतीय सवारी दर्तामध्ये झण्डै आधा हिस्सा ओगट्दै ई.मास ५ मलेसियाको सबैभन्दा लोकप्रिय ईभीका रूपमा स्थापित भएको हो।
अक्टोबरमा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन्। यो संख्या मलेसियामा उक्त महिना दर्ता भएका कुल विद्युतीय सवारीको ४९.३ प्रतिशत हो। अर्थात् अक्टोबरमा मलेसियामा दर्ता भएका प्रत्येक दुई विद्युतीय सवारीमध्ये करिब एउटा ई.मास ५ रहेको छ।
मलेसियामा अक्टोबर महिनाभर कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए। यो संख्या सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशत कम हो। साथै, सन् २०२६ को फेब्रुअरीयताकै सबैभन्दा कम मासिक ईभी दर्ता पनि हो। समग्र विद्युतीय सवारी बजारमा गिरावट देखिँदा पनि ई.मास ५ ले भने आफ्नो बजार हिस्सा उल्लेखनीय रूपमा बढाएको छ।
प्रोटोनको अर्को विद्युतीय मोडल ई.मास ७ पनि बिक्रीका हिसाबले अगाडि देखिएको छ। अक्टोबरमा यसका ५५४ वटा सवारी दर्ता भएका छन्। ई.मास ५ र ई.मास ७ को संयुक्त दर्ता संख्या २ हजार ८१६ पुगेको छ। यो मलेसियाको कुल ईभी दर्ताको ६१.३ प्रतिशत हो।
यसैबीच, अक्टोबरमा मलेसियामा हाइब्रिड सवारीको दर्ता संख्या ५ हजार २३ पुगेको छ। यस वर्ष दोस्रो पटक हाइब्रिड सवारीको दर्ता पूर्ण विद्युतीय सवारीको भन्दा बढी भएको हो। यसले मलेसियाली बजारमा विद्युतीय सवारीसँगै हाइब्रिड प्रविधिप्रति पनि उपभोक्ताको आकर्षण बढिरहेको संकेत गर्छ।
नेपालमा पनि उपलब्ध ई.मास ५
मलेसियामा लोकप्रियता हासिल गरिरहेको प्रोटोनका विद्युतीय सवारी नेपाली बजारमा पनि उपलब्ध छन्। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालि नेपालका लागि प्रोटोनको आधिकारिक वितरक हो। कम्पनीले ई.मास ५ र ई.मास ७ नेपाली उपभोक्तामाझ बिक्री गर्दै आएको छ।
प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा रियर ह्विल ड्राइभ लेआउटसहित आएको यस गाडीमा ८५ किलोवाट क्षमताको मोटर र ४० किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री जडान गरिएको छ।
यसमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टिलिंक सस्पेन्सन तथा भेहिकल टु लोड (भीटूएल) प्रविधि उपलब्ध छन्। भीटूएल सुविधामार्फत गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।
गाडीमा ७० लिटर क्षमताको फ्रन्ट ट्रंक (फ्रङ्क) र ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस छ। यसका अतिरिक्त ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यात्राका क्रममा आवश्यक सामान राख्न सहज बनाउँछन्।
प्रविधिका हिसाबले यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा समावेश छन्। नेपाली बजारमा ई.मास ५ को मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।
ई.मास ७ मा ४१० किलोमिटरसम्मको रेन्ज
प्रोटोनको अर्को विद्युतीय एसयूभी ई.मास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ४१० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ।
गाडीमा १२-इन-१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा छ। यसको इन्टेरियरमा १५.४ इन्चको २.५के टचस्क्रिन र १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम राखिएको छ।
त्यस्तै, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेडअप डिस्प्ले (एचयूडी) र भीटूएल सुविधा पनि उपलब्ध छन्। नेपाली बजारमा ई.मास ७ को मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।
नेपालमा प्रोटोनका विद्युतीय सवारीको बिक्री तथा सेवा विस्तार गरिरहेको जगदम्बा मोटर्सले नवीनतम अटोमोटिभ प्रविधि नेपाली उपभोक्तासम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ। प्रोटोन मलेसियासँगको सहकार्यमा कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार र ग्राहककेन्द्रित सेवामा जोड दिँदै आएको छ।
जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो। नौ दशकभन्दा लामो व्यावसायिक इतिहास भएको शंकर ग्रुप सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापना गरिएको बहुआयामिक व्यावसायिक समूह हो। यस समूहअन्तर्गत विभिन्न क्षेत्रमा ४० वटा कम्पनी सञ्चालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।