काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पुरा भएको छ । अब पहिलो क्वालिफायर (क्वालिफायर–वान)मा डिफेन्डिङ च्याम्पियन (साविक विजेता) लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन भने इलिमिनेटरमा काठमान्डु गोर्खाजले चितवन राइनोजबिरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
विराटनगर किङ्गस, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएका छन् । सात खेल खेलेको लुम्बिनीले पाँच जित, एक हार र एक खेलमा नतिजाविहीन रहेर ११ अंक जोड्दै पहिलो स्थानमा रहन सफल भयो भने सुदूरपश्चिम रोयल्स पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।
काठमाडौं गोर्खाजले चार जित र तीन हारसहित आठ अंक जोडेर तेस्रो तथा चितवन राइनोज तीन जित, तीन हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंकसहित चौथो स्थानमा छ ।
लुम्बिनीले प्रतियोगिताको सुरुवातमै नै सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर विजय यात्रा प्रारम्भ गरेको थियो । त्यसपछि पनि लगातार राम्रो प्रदर्शन गरेको लुम्बिनीले काठमाडौं गोर्खाजसँग ३६ रनको हार बेहोर्नुअघि अपराजित यात्रा कायम राखेको थियो । अन्तिम चरणमा विराटनगर किङ्गसलाई चार विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा पुग्यो ।
सुदूरपश्चिम रोयल्सले पनि सुरुवाती हारपछि लय समात्दै दोस्रो स्थान सुरक्षित ग¥यो । कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शन टोलीका लागि महत्वपूर्ण रह्यो । काठमाडौं गोर्खाजले मध्य चरणमा लगातार तीन खेल जित्दै प्लेअफको दाबेदारी बलियो बनाएको थियो । चितवन राइनोजले पनि उतारचढावपूर्ण प्रदर्शनका बाबजुद अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
नयाँ खेलाडीको उदय
तेस्रो संस्करणको पहिलो चरणअन्तर्गतका खेलहरुमा टिमको विजय वा पराजयलाई अलग राखेर समग्र खेलको विश्लेषण गर्ने हो भने नयाँ खेलाडीले आफ्ना प्रदर्शनका कारण दर्शकबाट निकै माया पाएका थिए । यसमका सबैभन्दा बढी चर्चा पाउनेमध्येका एक हुन् जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव । १६ वर्षीय राहुलले आफ्नो पहिलो एनपीएल सहभागितामै प्रभावशाली प्रदर्शन गरे । उनले सात खेलमा १२ विकेट लिँदै प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी बनेर आफ्नो दम देखाएका छन् ।
काठमाडौं गोर्खाजविरुद्ध ३१ रन दिएर चार विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन रह्यो । जनकपुरको समग्र प्रदर्शन कमजोर रहेपनि राहुलको बलिङले नेपाली क्रिकेटमा नयाँ सम्भावना देखाएको छ ।
यस्तै, चितवन राइनोजका रिजन ढकाल, कमल सिंह ऐरी र काठमाडौं गोर्खाजका जहानदाद खानले पनि १२÷१२ विकेट लिए । यी खेलाडीको प्रदर्शनले यसपटक एनपीएलमा स्थापित नामसँगै आफूहरुको सम्भावना प्रमाणित गरेका छन र विदेशी खेलाडी सामु नेपाली खेलाडीपनि कम छैनन भन्ने देखाएका छन् ।
सन्दीपको ह्याट्रिक
तेस्रो संस्करणको सबैभन्दा स्मरणीय प्रदर्शन व्यक्तिगत प्रदर्शनमध्ये एक रह्यो विराटनगर किङ्गसका कप्तान सन्दीप लामिछानेको ह्याट्रिक । पोखरा एभेन्जर्सविरुद्ध उनले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । सोही खेलमा उनले लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनको उत्कृष्ट बलिङकै कारण पोखरा १३२ रनमा समेटियो र विराटनगरले चार विकेटको जित निकाल्यो ।
त्यसैगरी व्यक्तिगत प्रदर्शनकै हिसाबले पनि तेस्रो संस्करणमा केही खेलाडीले राम्रो प्रभाव छाड्न सफल भए । पोखरा एभेन्जर्सका युवा विदेशी ब्याटर युवराज सामराले कर्णाली याक्सविरुद्ध ४८ बलमा १०२ रन बनाउँदै शतक पूरा गरे ।
उनले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरेका थिए । प्रतियोगिताको अन्तिम लिग खेलमा पनि कुशल भुर्तेल र युवराज सामराले दोस्रो विकेटका लागि १८६ रनकै साझेदारी गरेपछि पोखराले काठमाडौंविरुद्ध २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनायो । यो एनपीएलको अहिलेसम्मकै उच्च योगफल बन्यो । पोखराले उक्त खेल ५५ रनले जित्यो । उक्त खेलमा भुर्तेलले ५१ बलमा व्यक्तिगत ९९ रन जोडे भने समाराले पनि ५५ बलमा ८९ रन जोड्न सफल भए । तर अघिल्ला खेलमा निराशाजनक प्रर्दशनका गरेका कारण पोखराले खेल जितेपनि प्रतियोगिताबाट भने बाहिरिनुपर्यो ।
विदेशी खेलाडीको प्रदर्शन पनि प्रतियोगितामा चर्चामा रह्यो । काठमाडौं गोर्खाजका डेभिड वार्नरले लुम्बिनीविरुद्ध ६६ रन बनाएका थिए । कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिमविरुद्ध ५५ बलमा अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । विराटनगर किङ्सका आन्द्रे रसेलले ब्याटिङ र बलिङ दुवैमा प्रभाव देखाएका थिए ।
अघिल्लो संस्करणको तुलनामा के कमजोर देखियो ?
अघिल्ला संस्करणको तुलनामा यसपटक नेपाली युवा खेलाडीको व्यक्तिगत प्रदर्शन र नयाँ प्रतिभाको उद्य सकारात्मक पक्ष रह्यो । तर, टोलीहरूको प्रदर्शनमा निरन्तरता भने चुनौतीका रूपमा देखियो । केही टोलीले एक खेलमा उत्कृष्ट ब्याटिङ गरे पनि अर्को खेलमा सामान्य योगफलमै समेटिए । यसले ब्याटिङमा स्थिरताको अभाव देखायो ।
त्यस्तै, कीर्तिपुरको पिचको अवस्थालाई लिएर पनि प्रश्न उठे । कतिपय खेलमा ब्याटिङ गर्न कठिन देखिएको पिचमा कम योगफल बने । अर्कोतर्फ, केही खेलमा भने ठूलो योगफलसमेत बने । यसले प्रतियोगिताभरि पिचको एकरुपता र ब्याटिङका लागि अनुकूल वातावरणबारे बहस सिर्जना गर्यो ।
लिग चरणमा केही खेल निकै प्रतिस्पर्धात्मक बने । कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध १८७ रनको लक्ष्य एक बल बाँकी रहँदा पूरा गरेको थियो । सोमपाल कामीले ३२ बलमा अविजित ६२ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए । त्यस्तै, विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले हराएको खेल पनि रोमाञ्चक बनेको थियो । वर्षाका कारण केही खेल प्रभावित भए भने लुम्बिनी र चितवनबीचको एक खेल रद्द भएको थियो ।
लिग चरणका खेल सकिएसँगै अब प्लेअफमा शीर्ष चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स भिड्नेछन् । त्यसको विजेता सिधै फाइनलमा पुग्नेछ । तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथो स्थानको चितवन राइनोजबीच एलिमिनेटर खेल हुनेछ । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायर भोली मंगलबार, एलिमिनेटर बुधबार हुनेछ । दोस्रो क्वालिफायर बिहीबार तथा फाइनल शनिबार हुने तालिका छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।