काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल भएको छ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा वर्तमान सुरक्षा व्यवस्था र चुनाव केन्द्रित सुरक्षा रणानीतिको विषयमा छलफल भएको हो।
बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री र सुरक्षा व्यवस्थाबारे धारणा राखेका थिए।
गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणप्रसाद शर्माले स्थानीय तह निर्वाचनबारे तयारी अवस्थामा रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।
करिव २ घण्टा चलेको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था केन्द्रित छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।