काठमाडौं– तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन।
विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकालिने गरिएको थियो । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि स्थगित गरिएको जनाइएको छ।
यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।