काठमाडौं- नेपाल टेलिकमले कुनै पनि दूर सञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूर सञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने 'अन्तरआबद्धता शुल्क' आजबाट लागू गरेको छ।
नेपाल दूर सञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिका अन्तर्गत अन्तरदेशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधानअनुसार आज (मंगलबार)देखि उक्त व्यवस्था लागू गरेको टेलिकमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
'नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुल दर स्वीकृतिका लागि नेपाल दूर सञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूर सञ्चार प्राधिकरणको मिति २०७८ माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भइ आएकोले परिमार्जित महशुल दर मिति २०७८ माघ १८ गते (तदनुसार १ फेबु्रअरी २०२२) देखि कार्यान्वयनमा ल्याएको हो,' टेलिकमले जनाएको छ।
नयाँ अन्तरदेशीय अन्तरआबद्धता कार्यान्वयन भएपश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महशुल दर परिमार्जन भइ शुल्कमा कमी आउने जनाएको छ। त्यसअनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रतिमिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ।
यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुल दर प्रतिमिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुल दर प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा कायम हुने विज्ञप्तिमा उल्लेख छ।
साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश एक रुपैयाँ १० पैसा कायम हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।