काठमाडौं- एनसेलका ग्राहकले मलेसियाबाट आउने कलमा कुरा गर्दा ट्याब जित्ने मौका पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो योजना ल्याएको हो।
'यो योजना मंगलबार (माघ १८) बाट सञ्चालनमा आउँदै छ र १० दिनसम्म सञ्चालनमा रहनेछ। यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्नुहुने तीन जना ग्राहकले एक/एक वटा फिल्पकेस र टी-पेनसहितको टीसीएल ट्याव टेनएस पाउनेछन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ग्राहकले उठाएको आगमन कलको कूल संख्या, औसत कल समय र कूल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने कम्पनीले जनाएको छ। मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिमकार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याव जित्ने मौका पाउनेछन्।
मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुने कम्पनीले जनाएको छ। मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्ने छन्। ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सञ्चालन गर्न सक्ने जनाइएको छ।
'यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन्,' विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।