काठमाडौं- भारतीय दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि ८ जनवरीमा अस्पताल भर्ना भएकी उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको भारतको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।
समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा मुख्यमन्त्री टोपेले लताको स्वास्थ्यमा क्रमिक सुधार भएको बताए। उनका अनुसार कोरोना र निमोनियाबाट लता निको भइरहेकी छन्।
गत ८ जनवरीमा कोरोना संक्रमण पुष्टि भएपछि लतालाई मुम्बईको कैंडी अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य गम्भीर भएपछि उनको उपचार आईसीयुमा राखेर गरिएको थियो। हाल भने उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ।
‘मैले लताजीको उपचार गरिरहेका चिकित्सकसँग कुरा गरें,’ टोपेले एएनआईसँग भने, ‘उहाँ निको भइरहनु भएको छ। कोरोना र निमोनियालाई उहाँले हराउनु भएको छ। हाल उहाँलाई भेन्टिलेटरबाट निकालेर उपचार गरिएको छ।’
अहिले लतालाई भेन्टिलेटर सहायताबाट बाहिर निकालेर अक्सिजन सपोर्टमा उपचार भइरहेको उनले बताए। कोरोना कारण स्वास्थ्य केही कमजोर भएपछि विगतमा भन्दा उनमा निकै सुधार आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।