काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफ्नो मागलाई उपेक्षा गरेर आफूलाई भित्तामा पुर्याउने काम नगर्न अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन्।
मंसिर २७ गते लेखेको पत्रका बारेमा ध्यानाकर्षण पत्र बुझाउँदै थापाले यस्तो बताएका हुन्। ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य हुने छैन भन्ने अपेक्षा गरेको छु,’ उनले पत्रमा भनेका छन्।
आफूले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा पत्रलाई 'रद्धिको टोकरी'मा फालिदिने काम भएको उनले बताएका छन्।
‘पार्टीको बृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध छु। पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो। तर, अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गइरहेको देखिन्छ,’ उनले भनेका छन्।
महाविधेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई संलग्न नगराइएको थापाको गुनासो छ। ‘पार्टीका कार्यक्रम र गतिविधिबारे मलाइ कुनै सूचना र जानकारी समेत दिइएको छैन। योजनाबद्ध रुपमा मलाई अलग्याउने प्रयास भइरहेको छ,’ उनले भनेका छन्।
एकपक्षीय, पुर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रिय सभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीय तहको निर्वाचनको तयारीमा सुस्तता आदिका कारण पार्टीको भविष्यबारे थप चिन्ता बढेर गएको थापाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।