काठमाडौं- २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २०७७ फागुन २३ मा विभाजन भयो। नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष ऋषि कट्टेलले सो नाम आफ्नो पार्टीको भएको भन्दै दायर गरेको रिटमा भएको सुनुवाइसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको थियो।
उनै कट्टेललाई पार्टीबाट निष्काशन गरिएको छ। उनको पार्टी नेपाल कम्युनिस्ट पार्टीले माघ १३ गते उनलाई निष्काशन गरेको हो। कट्टेलले दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३, नेपालको संविधानविपरीत दलको अहितमा काम गरेकाले निष्काशन गरिएको कट्टेललाई लेखिएको पत्रमा भनिएको छ।
'स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नदिनुभएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७.११ बमोजिम दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानबिन समितिको सिफारिस प्रतिवेदनबमोजिम आजैको मितिदेखि निष्काशन गरिएको व्यहोरा जानकारी गराइन्छ,' कावा अध्यक्ष लोकनारायण सुवेदीद्वारा लेखिएको पत्रमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।