काठमाडौं– दक्षिण अफ्रिकी उपन्यासकार तथा कवि आन्द्रे ब्रिन्कले आफ्नो उपन्यास ‘एन इन्सटेन्ट इन द विन्ड’मा उपन्यासको पात्र आदममार्फत भनेका छन्, ‘हामीभित्र भएको सम्झनालाई कसैले पनि हटाउन सक्दैन, हामी आफैंले पनि हटाउन सक्दैनौं।’
‘नोस्टाल्जिया’बारे उपन्यासको पात्रमार्फत आन्द्रेले दिएको परिभाषा धेरै हदसम्म उपयुक्त लाग्छ। दार्शनिकहरू यसलाई भावनात्मक विगतको सम्झनाको रूपमा लिन्छन्। कुनै सकरात्मक घटना वा सम्झना मात्र नभइ कुनै सामान्य दिन पनि भविष्यमा नोस्टाल्जिया बन्न सक्छन्।
उज्ज्वल सागरका गीतका शब्द जस्तै–
एउटै स्कुल थियो हाम्रो
मेरो सिट हुन्थ्यो तिम्रो पछाडी
चाहिन्छ कि तिमीलाई भनी
बसिरहन्थें पेन्सिल तिखारी
यो गीतका लाइन भूतकालमा व्यक्त छन्। अर्थात्, गीतकार नोस्टाल्जिक बनेका छन्। यसलाई दृश्यमा छायंकन गर्दा कस्तो होला?
स्कुलमा सँगै पढ्दा आफ्नो मनमा गुम्सिएका भावनाहरू बोकेर उज्ज्वल पोखरेल (उही उज्ज्वल सागर) स्कुलको प्राङ्गणमा कृतिलाई हेरिरहेका छन्। कुनै बेला बालसुलभ मनमा अंकुराएका भावनाहरू सम्झिदैं ‘नोस्टाल्जिक’ देखिन्छन्।
गायक उज्ज्वल सागरको गीत ‘पेन्सिल– अ नोस्टाल्जिया’ सुरुवाती दृश्य हो, यो। गीत शुक्रबार सार्वजनिक भएको छ। स्कुले जीवन र बाल्यकालमा सँगै पढेका कृति र उज्जवलबीचको मनोभावना गीतका शब्दमा कोरिएका छन्। कृतिको भूमिकामा छिन् किरण चन्द।
यो गीतलाई गायक उज्ज्वल र रोशन अधिकारीले संयुक्त रूपमा लेखेका हुन्। बाल्यकालमा हुने फरक प्रकारको प्रेमलाई गीतमा व्यक्त गरिएको छ। वयस्कमा उही ‘प्रेमी’ र ‘प्रेमिका’ सम्झिएर मुस्कुराउनुको मजा गीतका शब्द वर्णित छन्।
बाल्यकाल र वयस्क मात्र होइन, गीतमा किशोरावस्थाको भावलाई पनि व्यक्त गरिएको छ। नेपाली समाजमा प्रेमलाई संकुचित रूपमा हेरिन्छ। अझ किशोरावस्थाको प्रेम र मनोभावनालाई बुझ्ने मान्छे बिरलै भेटिन्छ। वास्तवमा परम्परागत प्रणालीमा चलेको समाजमा प्रेमलाई सकारात्मकभन्दा नकारात्मक पाटोबाट हेर्ने गरिन्छ।
उदाहरणका लागि काठमाडौं शहरलाई लिन सकिन्छ। शहर स्वभावैले प्रेमको मामिलामा उदार हुनुपर्ने हो। तर, प्रेम जोडीहरूलाई पार्क र विभिन्न सार्वजनिक तथा निजी स्थलबाट प्रहरीले पक्राउ गरेको समाचार आइरहन्छन्। त्यसैले भन्न सकिन्छ, शहरले समेत प्रेमलाई संकुचित बनाएको छ।
उसो भए प्रेम के हो त? चिन्तक तथा राजनीतिकर्मी प्रदीप गिरीको बुझाइ यस्तो छ, ‘प्रेम निशंकोच रूपमा स्वतन्त्रताको जगतमा प्रवेश गर्ने प्रयास हो। गणतान्त्रिक वा लोकतान्त्रिक स्वतन्त्रता होइन, साँचो अर्थमा मानवीय स्वतन्त्रता हो, प्रेम।’ केही वर्षअघि झापामा भएको ‘झापा साहित्य सम्मेलन’मा गिरीले दिएको यो अभिव्यक्तिले धेरै हदसम्म प्रेमलाई परिभाषित गर्छ।
उज्ज्वलको गीतमा गिरीले परिभाषित गरेको प्रेम अभिव्यक्त भएको छ। उनले गीतमा प्रेमको त्यो स्वरूपलाई प्रस्तुत गरेका छन्, जुन सामाजिक संकुचनभन्दा बाहिर र नितान्त भावनाले भरिएको छ।
भर्खर किशोरावस्थामा प्रवेश गरिरहेका युवक र युवतीको मनमा भएको प्रेम कस्तो होला? समाजको संकुचनलाई छाडिदिनुस्। मात्र, त्यो प्रेमबारे सोच्नुस्। न कुनै अपेक्षा, न त आकांक्षा। विनास्थार्थको प्रेम।
अब त्यो प्रेमिल मनोभावनालाई तपाईं केही वर्ष, वा भनौं दशकपछि सम्झिनुहोस्। त्यति बेला मनमा उब्जिने भावना हो, उज्ज्वलको गीत ‘पेन्सिल– अ नोस्टालजिया।’

किशोरावस्थामा भएको प्रेम सम्झिएर दशकौंपछि मनमा उब्जिएका भावनाहरू यसरी प्रस्तुत हुन्छन् गीतका यी शब्दमा–
माया टुटी जाने हैन
भन्थ्यौ तिमी नै हेर
युगौँ बितिसकेछन् हेर
ल्याउँदा खेरी सम्झेर
गीतमा गरिएका साना–साना बिम्बको प्रयोग उत्कृष्ट छ। जस्तो, पेन्सिल र इरेजरको प्रयोग सम्बन्ध र नियतिसँग जोडेर भएको छ। जब कृति परिवारसँगै बसाईं सरेर जान्छिन्, तब उज्ज्वल आफूले अब गल्ती गर्दा मेट्ने इरेजर नभएको प्रसंग गीतका शब्दहरूमा बोल्छन्।
‘नोस्टाल्जिया’ अच्चमको भाव हो। विगतको सम्झनाको वासना हो, जुन मानिसको उमेरसँगै हुर्किरहेको हुन्छ। मनमा हुर्किरहेको विगतको त्यो मनोभावनालाई प्रस्तुत गर्न चाहँदा गीतमा फेरि विगत नै दोहोरिन्छ। समय निष्ठुर बनिदिन्छ। आफूसँग भएको गलबन्दीमा अधुरो प्रेम टांगिएको थियो, त्यो कृतिको हातसम्म पुग्दैन। यसपटक पनि उनी उज्ज्वलको आगमनअघि नै गइसकेकी हुन्छिन्।
गीतका शब्दले एउटा अधुरो प्रेमको कथा भन्छ।
गीतका शब्दले पोखेका भावना भिडियोमा पनि त्यही रूपमा प्रस्तुत गरिएको छ। उज्ज्वल पोखरेल, किरण चन्द, आस्तिक पौडेल, सुकृति बर्तौलाले अभिनय गरेका छन्। शब्दले पोखरेलका भावनालाई जस्तै दृश्यले पनि न्याय गरेको छ।
वर्तमानमा भएको भेटमा विगतको सम्झना भिडियोमा प्रस्तुत गरिएको छ। सुरुवाती प्रसंगमा कृतिको आगमनदेखि दुई पात्रले सँगै पढेका कक्षाकोठा घुम्दै विगतमा सम्झिएका दृश्य सुन्दर छन्।
गीतको भिडियोलाई निर्मल पौडेलले निर्देशन गरेका हुन्। उनका अनुसार गोर्खाको घ्यालचोकस्थित ज्ञानमार्ग उच्च माध्यमिक विद्यालयमा गीतको छायांकन भएको थियो।
यो गीतको भिडियोमा रङ संयोजन निकै सुन्दर ढंगमा गरिएको छ। गीतमा वर्तमान र विगत छुट्याउन जुन रङबीच भिन्नता देखाइएको छ, निकै प्रशंसनीय छ। भिडियोमा देखाइएको कथाले पनि गीतलाई पूर्णता दिएको छ। भिडियोमा दुई समयको कथालाई समानान्तर ढंगमा देखाइएको छ।
शब्द र दृश्यको संयोजनले गीतलाई सुन्दर बनाएको छ। गीतको अन्त्यमा किरणले उज्ज्वललाई खोजिरहेकी हुन्छिन्। तर, उज्ज्वल आउँदा उनी स्कुलको प्रांगणबाट बाहिरिसकेकी हुन्छिन्। उज्जल आफ्नो हातमा एउटा गलबन्दी बोकेर उनी छुटेको गाडी हेरिरहन्छ।
त्यो गलबन्दी उनीहरूको अधुरो प्रेमको प्रतीक बनेको छ।
गीतको भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।