विराटनगर– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरङ्कुशता सुरु भएको बताएका छन् ।
विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो । तर, अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ । के–को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो । यो निरंकुशताको सुरुवात हो,’ कोइरालाले भने, ‘कांग्रेसको जन्म त्यसको लागि भएको होइन ।’
कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यही दिशामा आफूहरु सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बताए । ‘कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ कोइरालाले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ ।’
कोइरालाले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको पछि नकुद्न आग्रह गर्दै उनले त्यो विषय सरोकारको विषय नभएको पनि बताए । उनले सभापति गगन थापासँग कुरा गरेपछि ५ बुँदे प्रस्ताव लेख्नु परेको बताएका थिए । तर, उक्त प्रस्ताव पठाएको १ महिनामा पनि समाधान ननिस्किएको उनको भनाइ छ ।
उनले कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।