काठमाडौं- प्रतिनिधि सभाको बैठक आइतबार १ बजे बस्ने भएको छ। संसद् सचिवालयले उक्त बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
सम्भावित कार्यसूचीमा सहिदहरूप्रति श्रदाञ्जलि अर्पण, प्रधानमन्त्रीले थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जलि अर्पण गर्नेलगायत रहेका छन्।
यसैबीच प्रतिनिधिसभा बैठकअघि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। कार्यव्यवस्था समितिको बैठक संघीय संसद् भवनको शंकर हलमा बस्नेछ।
संसद्को कार्यसूची तय गर्न सभामुखले आवश्यकता देखेमा कार्यव्यवस्था समितिको बैठक बोलाउने संसद् नियमावलीमा प्रावधान छ।
सभामुखले आवश्यकता अनुसारका कार्यव्यवस्था समितिमा रहेका सदस्यमध्येबाट बोलाउन सक्छन्। नियमावलीअनुसार कार्यव्यवस्था समितिमा १७ जना हुने व्यवस्था छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।