अनिश्चय छ र पो आनन्द बन्छ जिन्दगी।
लाङ्दुक, तिमी र म उस्तै उस्तै रुपमा ब्युँझियौं सखारै। पाँडको एक खण्डमा हामी चार भाइ लहरै सुतेका थियौं, अर्को खण्डमा दुई बहिनीहरू चरा जसरी चाईंचाईं चुईंचुईं गरिरहेथे। तिमी रातभरिको पानीले नुहाएर ताजा र जोशिली बनेकी थियौ। म अघिल्लो दिनको थकाई तिमीलाई नै सुम्पेर हल्का र जाँगरिलो बनेको थिएँ। तिमी पानी र हिउँका भुत्लाहरूले शीतल बनेकी थियौ, म अघिल्लो साँझ भिजेका कपडाहरू पहिरेर लुगलुग काम्दै थिएँ।
तिमीसँगै म उठ्दा हामी दुवैलाई उमङ्गित पारेथ्यो अपी, शैपाल र अरु धेरै हिमालका हँसिलो मुहार र त्यतैबाट आएका मगमगाउँदो हावाका झोक्काहरूले। अझ दक्षिणपूर्वकी मारुगोर हिमाल त मुसुमुुसु मुम्कुराइरहिन् हामीलाई देखेर।
‘लु...हाउ...हि...छुम्’ त्यस्तै त्यस्तै आवाज आइरहेछ छिरिङ दाइको घरमुन्तिरको बाटोबाट। भ्या.....भ्या....पनि गर्दैछन्। उठेर हेरें। सयौं भेडाका हूल पो रहेछन्। प्रायः सबै भेडाका पिठ्यूमा दुई पोका बोकाइएका छन्। पछि पचास जति खच्चरहरू पनि भारी बोकेरै उकालो लगिरहेछन्। भेडा होस् वा खच्चर, ढिलो हिंड्नेलाई सिम्केनाले सुईठ्याउँन छोडेका छैनन् गोठालाहरूले। अघिल्लो दिन पानीले भिजेका बाटोमा भेडा र खच्चरका खुरले अमूर्त चित्र बनाइरहेछन्। उनीहरूको बड्कौँला र लिदीले रङको काम गरिरहेछ चित्रहरूमा।
‘गाडी हुन् यिनीहरू हुम्लाका, यिनीहरूले भारी नबोके नुन नभेटेरै मर्नु पर्छ गाउँ गाउँमा। भोटतिरबाट पनि ल्याइन्छ, सिमकोटबाट पनि ओसारिन्छ’— छिरिङ्दाइ बताउनु हुन्छ।
‘ए त्यसो भए हुम्लाका ट्रक पो रहेछन् यिनीहरू त। खच्चर ट्रक, भेडा मिनिट्रक होइन त?’— म र दाइ दुवै हाँस्छौं।
मान्छेको खुशीको लागि मरिमेटेका छन् भेडा र खच्चरहरू पनि। सकुञ्जेल भारि बोक्यो, नसकेपछि कसैको अँगेनामा उसिनियो, कसैको थाल र बटुकाबाट वाफ निकाल्यो र मल बनेर माटोमा मिसियो। लेकभरिको यार्सागुम्बाका मुहुनाहरू टोके पनि के अर्थ, खर्क भरिका पाँचऔंले, कुट्की र पाखनवेद कोपरे पनि के अर्थ! बाँच्नु नै मर्नका लागि, एउटा सूत्र सल्बलाइरहेछ तिनका ताँतीहरूमा।
चिया पाकेको खवर आउँछ। एक काठे लिस्नुबाट झर्छौं हामी। भाउजूले चौंरीको घ्यू र सिधेनुन हालेको भोटेचिया तयार गरिसक्नुभएको रहेछ। कायोल नामको ग्लास जस्तै काठको भाँडोमा चिया पिउन सुरु भयो। कायोल खाली भयो कि भाउजूले चिया थपिहाल्ने। अगेना वरिपरि बसेर घण्टौंसम्म चिया थपीथपी खाने भोटे संस्कृतिको विशेषता नै रहेछ। विष्णुजी र मैलेबाहेक अरु साथीहरूले त चियासँगै उवाको छ्याङ् पनि खानुभयो।
‘बिहानै छ्याङ्?’— मैले सोधें।
‘चिसो मेटाउन चिया, थकाइ मेटाउन छ्याङ् राम्रो हो नि’—स्पष्टिकरण भाउजूको।
अन्न अभावको अत्यासमत्यास उग्र छ तिमीमा। तर लेकभरि लटरम्म झुलिरहेका यी चियाहरूलाई किन आफू र अरुको तृप्तीको लागि आत्मोत्सर्ग गराउँदिनौं। आफ्नै आङ्मा गाई हुँदाहुँदै किन मुसा खोज्न भौंतारिइरहिछ्यौ। म चकित छु, तिमीलाई देखेर।
संकटको साँझ बास पाइयो। अब त हिंड्नु नै छ। हामी बिदा माग्ने तर्खरमा छौं।
कुन क्षणमा को सँग भेटहुन्छ, कहिले कहाँ पुगेर बस्नुपर्छ कस्लाई थहा छ र? अघिल्लो दिन लाङ्दुकमै बास पर्छ भन्ने पनि कहाँ सोचेका थियौं र हामीले। भेट नभएको भए कहाँ चिनजान हुन्थ्यो र छिरिङ दाइको परिवारसँग।
छिरिङ दाइकोमा बसे पनि लाङदुकका दश बाह्र घर नै त्यस्तै आत्मीय त्यस्तै मायालु होलान् भन्ने अड्कल छ मेरो मनमा।
मलाई तिमी पनि राम्ररी मन पर्यौ है लाङ्दुक।
‘सिमकोट आउँदा यता पनि आउँदै गर्नुहोला। म पनि काठमाडौं आउँदा भेटौंला। छिरिङ कान्छो लोग्ने हो मेरो। जेठो र माइलो लोग्ने त उतै बौद्धतिर बस्छन्’— बहुपति प्रथाको सामान्यीकरण छ भाउजूको बोलीमा।
‘छोराछोरी कति छन् नि?’— विष्णुजी कोट्याउनुहुन्छ।
‘तीन लोग्नेबाट तीन वटा छोरा, यो चाहिं माहिलाको हो। जेठो र कान्छोपट्टिको लामा पढ्न इण्डिया गए’— बारीका स्याउझैँ हँसिली छन्। पत्नीले जुन लोग्नेको भनेर चिनाइन उसैको सन्तान मान्ने चलन रहेछ बहुपति प्रथामा।
छवटै टाउकामा चौंरीको घ्यू दलिदिनुभयो आमाले। शरीर स्वस्थ्य होस्, राम्रो सोच्न आओस्, आँटेको काम पूरा होस्, इज्जत टाढा टाढासम्म फैलियोस्— त्यस्तै त्यस्तै आशिर्वाद दिनुभयो आमाले। बोतलबाट उवाको छ्याङ खन्याउँदै टाउकोभरि दलिदिनुभयो भाउजूले। पाहुना बिदाइ गर्ने भोटिया संस्कार रहेछ त्यो।
‘सर र म्यामले अघि मुखले छ्याङ नखानु भएको होइन, अहिले टाउकाले खाइहाल्यो’— जिस्काउनुभयो सुमन र विशालले।
‘एबुदुत’ (राम्रोसँग बस्नुहोस्)— साथीहरूले भन्नु भयो। ‘एबुसोङ’ (राम्रोसँग जानुहोस्)— आमा र भाउजूले भन्नुभयो। हामी हिड्यौँ। छिरिङ दाइको आँगनबाट ओर्लँदा बिहानको आठ अङ्कित थियो घडीमा।
पहिरेका कपडाहरू नसुकेकाले हिंड्न अप्ठेरो छ हामीलाई। तै घामले सुमसुम्याइरहेकोले आनन्द आइरहेछ। तिम्रो शिरमा ताजजस्तै सजिएको पञ्चमुखी हिमालको सेताम्य संसार देख्दा मन त्यसै त्यसै खुशीले कुतकुतिएको छ। तल बाँयातिर सिमकोट बजारले घरिघरि तिमी हामीलाई नियाल्छ। अझ तल दक्षिणतिर खोंचमा खार्पुनाथ छ, जहाँ दोज्याम र हुम्ला कर्णाली मिलिरहेछन्। पूर्र्वतिर ठेहे र पश्चिम उत्तरतिर हिल्दूम गाउँहरू गुजुमुज्ज बसेका देख्दा तिनीहरूसँग पनि मितेरी लगाउन पाए हुन्थ्यो भन्छ मनले। तिमै्र आँगनमा स्वदेशी र विदेशी मित्रहरूलाई कयौं रात बास बसाउन पाए, तिमै्र खोँच, खोल्सी र पानीढलोमा उम्रेका जरा बुटाको महत्व दर्शाउँदै सुप र तेलको स्वाद चखाउन पाए, हिउँभन्दा धेरै बर्सन्थ्यो स्वदेशी र विदेशी पैसा। आफूसँगैको श्रीखण्ड फ्याँकेर अरुसँग उत्तिसको स्याउला माग्नु कत्रो दुर्भाग्य!
बाटाहरू जिन्दगी जस्तै छन्— उकाला, ओराला, घुमाउरा र सम्म।
एकै किसिमका मात्र बाटाहरू हुने हो भने कति निरस हुन्थ्यो होला यात्रा।
हिल्दूमको ओरालोमा मैले टेकेको ढुङ्गा खुस्कियो। घुसमुटिएर दुई बल्ड्याङ खाएँ। जङ्गजीले च्याप्प समातिहाल्नुभयो र मात्र, नत्र थाङथिलो हुन्थे होलान् मेरा हाडखोडहरू। लड्नुको बेग्लै मजा हुन्छ उठेपछि। त्योभन्दा अप्ठेरा भीरहरूमा केबलकार जोडेर संसारभरका मान्छेहरूसँग पैसा असुलीरहेको देखेथें मैले युरोपको मँ ब्लँ हिमाल र जापानको ओसाका वरिपरि। अप्ठेरोलाई आश्चर्य दर्शाउन सके पो सोहोरिन्छन् सबैतिरका मान्छे। सरसफाई र लवाइखवाइले नसजाई आमालाई खुन्द्रीबूढीको रुपमा मात्र राख्ने हो भने कहाँ उज्यालिन्छन् र कसैका पनि दिनहरू। ढुङ्गा, माटो, उकालो, ओरालो, वनस्पती, जीव जे भने पनि आश्चर्यपूर्ण छन् तिमीसँग। त्यतिका गहना बगर बनेर गुल्टिरहेका देख्दा उकुसमुकुस बनेको छु म।
घोडा, चौंरी र भेडाहरू जतासुकै चरिरहेछन्। शान्त पाखाहरूमा वस्तुभाउको सल्बलाहटले एउटा तरङ्ग फैलिरहेछ।
‘छ्याग्भुलो’ (नमस्कार) — मैले अलिअलि जानेको हुम्ली शब्दमा अभिवादन गरें।
एक दाइ र एक दिदी ढुङ्गा चिनेर बाटो बनाइरहनुभएको रहेछ। दाइले पनि हात जोरेर बोल्नुभयो— ‘छ रिङ छ्याग्लामा कोञ्ज्याग्ला फूल।’ (तपाईंको नमस्कार भगवानसम्म पुगोस्।)
‘यबु होता?’ (सन्चै छ?)— मैले के के न हुम्ली भाषा जानेझैँ फेरि बोलें। त्यसपछि मसँग हुम्ली भाषाका कुनै शब्द थिएनन्। दाइ दिदीलाई भने मैले राम्रैसँग हुम्ली बोल्न आउँदोरहेछ भन्ने लाग्यो क्यार।
‘यवु’ (सन्चै)— त्यसपछि उहाँहरूले बेल्नु भएको केही बुझिन।
‘गाउँ छेउमै त्यस्तरी बाटो बिग्रिएको छ। गाउँले कसैले बाटो बनाएनन्। बाटो बनाउनु र बाटो देखाउनु जस्तो ठूलो धर्म अरु केही छैन। अस्ति मात्र पनि एक गोरखाली यहींबाट चिप्लेर घाइते भए, झुमा र झोपा त कति मरिसके, द्यौता पुज्नुभन्दा बाटो खन्दिएको बेस। त्यसैभएर हामी बूढाबूढी नै यो काममा लागेको। तिमीहरूको धर्म पनि अलिकति चोर्छौं होला हगि हामीले?’ दाइ हाँस्न थालेपछि सबै अथ्र्याउनुभयो साथीहरूले।
‘जिन्दगीमा कसले देखाएको बाटोमा हिंड्नुपर्छ, कसलाई बाटो देखाउनु पर्छ, टुङ्गो कहाँ छ र!’— सोचें मैले। अरुले देखाएको बाटोमा हिंड्नुभन्दा आफैँले नयाँ बाटो बनाएर अरुलाई डोर्याउन सक्नु कत्रो सफलता— थप सोच सङगालियो।
‘आम्मै! कति राम्री’— आँखै सामुन्ने तस्बिरझैँ उभिएकी बुराउँसे देखेपछि लोभिएँ म। ‘अघिसम्म लाङ्दुक राम्री, अहिले बुराउँसे।’
‘सर पनि, घामदेखे घाम राम्रो, जूनदेखे जून राम्रो, हिमाल देखे हिमाल राम्रो, नदी देखे नदी राम्रो, बादल, अँध्यारो, उज्यालो सबै राम्रो। यत्तिको सँगै हिंडियो कुनैबेला केही नमीठो र नराम्रो मान्नुभएको देखिन’— मेरो बारेमा आँकलन विष्णुजीको।
‘जिन्दगीका हरेक भेटमा खुशी हुन सक्नुपर्छ विष्णुजी, नत्र त दुःख बढिहाल्छ नि। प्रकृतिका हरेक कित्तामा रमाउन नसक्नेहरूको भागमा परिरहन्छ पीडा। म अप्ठ्याराहरू माझमा खोज्न चाहन्छु खुशी’— दर्शनको एक झोंक्का निकालें मैले।
छोर्तेनका लहर छन् बाटाहरूमा। बौद्ध मन्त्रहरू कोरिएका छन् तिब्बती भाषामा। भोकले पिल्सिरहेका ती बस्तीहरूमा; ढुङ्गामा छोर्तेन कुँद्नुको औचित्य पुष्टि हुन्छ हुँदैन, अलमलमा छु म। संस्कारको झीरमा उनिएपछि मुस्किल नै पर्छ निस्कन जो कोहीलाई पनि।
छ्वाङछ्वाङती खोलाहरू खसिरहेछन्, पाइला पाइलामा। खै, तिनको सदुपयोग? सदुपयोग नगर्ने हो भने कहाँ चपाउन मिल्छ र सुनलाई पनि?
बुराउँसे गाउँको माझमा पुग्दा अंशुझैँ खुलेको छु म पनि। भिरालोमा अडिएका थेप्चा घरहरू। घर वरिपरि फापर र चोतीले ढाकेका बारिका पाटाहरू। घर अघिल्तिर लटरमम्म फलेका स्याउका रुखहरू। मान्छेहरू पाँडबाट हेरिरहेछन्, बाटा बाटा कुदिरहेछन्। भित्रको व्यथा नबुझ्दासम्म असाध्यै सुन्दर देखिन्छ गाउँ।
‘हामीलाई स्याउ बेच्ने हो, बहिनी?’— उकालो र भोक दुवैलाई शान्त पार्ने जमर्को मेरो।
‘बेच्ने छैन, खान्या भए दिन्छौं’— कति सरल छ बहिनीको जवाफ।
‘हम आँटो खान्या, फाटो लाउन्या’ ले दिएको के खान्या हौ र गोरखालीले’ (हामी पिठो खाने, फाटेको लाउनेले दिएको सरकारी कर्मचारीले के खान्थ्यौ र?)– अर्की बहिनी स्याउको स्याउलाले मुख छेक्दै हाँसिन्।
‘आऊ पो गाला मारुँ’, क्यान टिप्दो हौ स्याउ’ (आऊ कुरा गरौं, किन स्याउ टिप्छ्यौ?) — अलि छेडखान छ जङ्गजीको बोलीमा।
स्याउ टिप्दैछन् एकै बोटबाट पाँच छोट्टीहरू। उनीहरूले बाह्र दाना स्याउ दिए। हामीले डिलमा बसेर चपायौं। पैसा दिन खोज्यौं। लिन मानेनन्।
‘खाना खायौ?’— मैले सोधें।
‘स्याउ पाएपछि के को खाना खानु, बरु यहीं पनि सकिन आँट्यो र पो। घरमा आँटो छैन, स्याउ सकिएपछि के पो खाने हो’— बहिनीहरूका छातीका बेदनाहरू फुत्रुक्क ओर्लिए हाम्रा कान र मनमा। उनीहरूको छाक धान्ने मेलो पो लुटेछौं हामीले। थक्क थक्क लाग्यो मलाई। घरमा खाने खानेकुरा छैन। बारीमा फलेको फलफूल बेच्नु बेइज्जती ठान्ने कस्तो चलन? आङ ढाक्ने धराहरू जीर्ण छन् पाँच छोट्टीहरूको। एउटीले झुत्रो पोते पहिरेकी छिन्, दुईवटीले ‘अठुर्नी’ (पचास पैसे सिक्का), ‘सुकी’ (पच्चीस पैसे सिक्का) र ‘पाँचनी’ (बीस पैसे सिक्का) को माला लगाएका छन्। सबैले नाम मात्रको चोली लगाएका छन्। कम्मरमा ‘ठेटुवा’ (पेटीकोटजस्तो फरिया) लगाएका छन्। भ्mयाङप्वाल छन् सबै कपडाहरू। लाज ढाक्नका लागि लगाएका हुन् परिधान, तर प्वाल प्वालबाट निस्केका छन् लाजका गहनाहरू। लाज ढाक्न स्याउका सेउलाको आड लागेका स्पष्ट बुझ्यौँ विष्णुजी र मैले।
विकसित मुलकुमा खात नै खात कपडाले थिचिएर निसास्सिएका मान्छेहरू ‘नो प्यान्ट्स सबवे राइड’ (प्यान्ट नलगाइ सडकमा हिँड्ने) अभियान चलाइरहेछन्। उनीहरू नाङ्गा तिघ्रा प्रदर्शन गर्छन्। छोटा र फरक ढङ्गका कपडामा सजिने मान्छेहरूको होडबाजी चलिरहेछ। भड्किलो कपडाको कारण नारीहरू बलात्कारको शिकार हुने पुरुष टिप्पणीको विरोधमा उत्रनेको संख्या पनि बढेकै छ संसारभरि। उनीहरूले अनुमतिविना महिला शरीरको खुला भाग छुन नपाइने उद्घोषमा अर्धनग्न शरीर देखाउँदै ‘स्लट वाक’ अभियान चलाइरहेछन्। खान अन्न छैन, जाडो थेग्न वस्त्र छैन, लाज ढाक्ने कुरा अझ पर छ हुम्लामा। उता गायिका वियोन्सेको कपालको स्टाइल र प्वाइन्टेड हिल जुत्ता, नायिका क्रिस्टन स्टुवअर्टको अफेयर, स्टार आर्नोल्ड र स्टालोन जस्ता एक्सन हिरोहरूको कपालको स्टाइल, केट विन्सलेट र स्याम मेन्डिस, हेली बेरी र एरिक बेनेट, जुलिया रोबर्टस् र बेञ्जामिन ब्रटका प्रेमिल क्षणहरूलाई ठूला ठूला अक्षर र तस्बिरमा माला उन्छन् संसारभरका संचार माध्यमहरूले। गोल्ड, प्लेटिनम, सिल्भर र कपरका क्रिम र लोसनले फेसियल गराउन ब्युटि पार्लर र स्पामा धाउनेहरूको भीड छिचोलिनसक्नु छ हाम्रै शहर बजारमा। शहरियाहरूले एक पटक फेसियल गर्ने खर्चले हुम्ली दिदी–बहिनीहरूको कयौं छाक खाना टर्छ। जाडो र लाज ढाक्ने कयौं जोर कपडाको जोहो हुन्छ। यसलाई न सरकारलेनै हेरेको छ न अरु क्षेत्रका जनताहरूले नै।
कतै खानै नपाएर र कतै खाना नै नपचेर मर्ने अवस्था रहेसम्म के काँचुली फेरोस् देशले। उमेरले दिएका गहनाहरूलाई अलिकति छोपछाप नपारी असरल्ल छाड्ने बाध्यताको अगाडि गाँस, बास र कपासका अभियान भन्दा बाहेकले के अर्थ राख्न सक्छ र यो दुनियाँमा।
तोर्पा होउ वा लाङ्दुक, हिल्दुम होउ वा बुराउँसे तिम्रो विपन्नतामा भित्रभित्रै भुटभुटिएको छु म। यति सुन्दर शरीर छ तिमीहरूको, डाँडाकाँडालाई जीवन दिनसक्ने यति उत्साही आँट छ तिमीहरूको। तैपनि तिमीहरू केही नभएझैँ उजाड बनिरहेछौ, कोही नभएझैँ उदास देखिइरहेछौ।
पचास वर्षअघि तिमीभन्दा गएगुज्रेको थिइन् भन्थे जापानकी आन्नाका, मैले भेट्दा सम्वृद्धिका गहनाले गजधम्म थिइन् मोरी। तीस वर्षअघि दाल चामल भेट्नु दन्त्यकथाको राजकुमार भेटेझैँ मान्थिन् रे दुबहीले, मैले भेट्दा उड्ने, गुड्ने र पौडने महलहरूमा संसारको स्वाद चाख्दैरहिछन्। सय वर्षअघिसम्म एक्लो संसारमा उकुसमुकुस बनिरहेकी न्युयोर्क नानी आँसुको ओसले टाक्सिरहिथिइन् भन्थे बुझ्नेहरू, मैले भेट्दा घाम, पानी, हावा, हिउँ जतासुकै खुशी छरिरहिथिन्। तिमी चाहिं नचुलिने कारण के छ र नचम्कने कुरा के छ र? अरुको मुख ताकेर हुँदैन तिमी आफैँ आफ्नो लागि उठ्नुपर्छ अब, हुम्ला।
उदास मनमा उकालो चढ्नु जस्तो नमजा अरु केही हुँदैन, हामी केही बेर उकालो चढेर तलतिर झर्यौं।
फेरि भेटियो हुमाने खोला। फेरि हिँडियो डालेचुकको जंगल नै जंगल। हुमाने एउटाबाट मात्र बिजुली झिक्ने हो भने कति छिट्टै हराउँथे तिम्रा दुःखका दिनहरू। डालेचुकको मात्र सर्बत, वाइन र सोमरस व्यवस्थित रुपमा बनाउने हो भने कत्ति छिट्टै फालहालेर आउँथे होलान् सुखका क्षणहरू। आफ्नै नाइटोमा बीना बोकेर सुगन्ध खोज्न हिंडिरहेकी तिमीलाई छाम्दा म हिल्दूम खोला भन्दा दुःखित बनेर तलतल झरिरहेछु।
‘सरको अनुहार र व्यवहारमा दाइ भेटिरहेछु मैले। दाइको स्नेहमा उज्यालो लाग्दैछ संसार’— मेरो मौनतामा रङ दिन खोज्नुभयो विष्णु बहिनीले।
दाइ बन्नुको खुशी हिउँ जसरी फैलियो। ‘बहिनी पाउनु मायाको खानी भेट्नु हो, संसारमा आड भेट्नु हो उत्साहको, हिमालमा बहिनी भेट्नु हिमदेबी भेट्नु भैरहेछ’— बहिनीको मायाले फैलियो उमङ्ग मेरो शरीरभरि।
मास्तिरबाट एक हुल चौंरीहरू आँखै नहेरी फालहाले। हामीलाई बाटोमै कुल्चिमिल्ची पार्लान् जस्तो भयो। हाम्रा अङ्ग अङ्गमा सिङले दूलो पार्लान् भन्ने डर लाग्यो। धन्न डालेचुकको रुख रुखमा छेकियौं र पो बाँचियो बाबै। तिनीहरू तलतिर झरेपछि भुतभुताउनु भयो विशालीले—
‘गाईको दूध गाईकै गोबर
गाईकै छाला चाल्नु
माया गरी घरमा पाल्नु
मौका परे फाल्नु’
‘अघि गाईले झण्डै सुप्लीठ्याङ बनाएको थियो, अहिले कविता भट्टयाउँछ’— हाँस्नुभयो सुमनभाइ।
‘बाँचेपछि त हो नि कसैले केही गर्ने मरेपछि लम्पसार बाहेक के हुन्छ र’— सरल जीवन–दर्शन छ, विशालजीको।
हामी सिमकोट बजारनेर पुग्दा प्रहरीको एक डफ्फा उकालो चढिरहेको भेटियो। ‘रल्लिङ हिमालमा औषधि खोज्न गएका दुई जना लेक लागेर मरे भन्ने खबर आयो, उद्धारको लागि हिंडेका’— डफ्फाका नाइके बोले।
‘लौ हामीलाई हिजो बोलाउनेहरू अस्ताएछन् क्यार, कहिल्यै नफर्कनेगरी’— एकाएक बादलले ढाक्यो निमाको अनुहारमा।
‘औषधि जोहो गरेर जिन्दगीलाई हिउँजस्तो उज्यालो पार्न त चढे नि त्यहाँ, मर्ने थहा पाएको भए किन जान्थे होलान् त्यो अनकन्टार हिमालमा’— हामी सबैको अनुहारमा एकाएक पैmलियो कालो कुहिरो। मृतसञ्जीवनी बुटीहरू बटुलेर संसारलाई चखाउन खोज्नेहरूनै भोक र ठण्डीले मरेका छन् हिमालहरूमा। आप्mनोविरुद्ध उचाइ चढिरहनेलाई सहेको छैन मृत्युले पनि।
मृत्युको छायाँमा खुशी मनाइरहेछ जिन्दगीले। भरभराएको आगोलाई यस क्षणसम्मनै छलिरहेछ मृत्युले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।