काठमाडौं– राजस्व अनुसन्धान विभागले गएको सोमबार विद्यार्थी राजनीतिमा सक्रिय कैलाली लम्कीचुहा–१० स्थायी ठेगाना भएका दिनेश खड्काको परिवारलाई नै क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा मुद्दा दायर गरेको छ। विभागले खड्कालगायतसँग साढे ३७ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो।
हाल काठमाडौं कालोपुल, गुरुङटोल बस्ने खड्का आफैंले परिवारको नाममा विभिन्न बैंकमा खाता खोलेर डलरको अवैधानिक कारोबारसमेत गरेका थिए। विभागले खड्कासहित उनका बुवा, दिदी र केटी साथीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
खड्काले केटी साथी अनिता धितालसँग मिलेर परिवारलाई समेत जानकारी नदिइ यस्तो कारोबार गर्ने गरेका थिए। उनले परिवारका सदस्यका नाममा पनि खाता खोलेर कारोबार गर्दा बाबु नरबहादुर र दिदी भगवती फस्न पुगेका थिए।
राजश्व अनुसन्धान विभागका एक कर्मचारीका अनुसार सुरुमा क्याम्पस पढ्ने विद्यार्थीले त्यति ठूलो रकम कारोबार गरेको विश्वास गर्नै मुस्किल भएको थियो। ‘सामान्य स्कुटर चढेर हिँड्ने र प्रायः पशुपति क्याम्पस वरपर देखिने युवाले ३७ करोड रुपैयाँ बराबरको डलर कारोबार गर्ने हिम्मत कसरी जुटायो भनेर हामी आश्चर्यमा परेका थियौँ,’ ती अधिकारीले भने, ‘वास्तवमा उनी त साना खेलाडी मात्र हुन्। ठूलो खेलाडी अरु नै छन्।’
यही शंकाको आधारमा विभागले २९ दिनसम्म थुनामा राखेर उनीमाथि अनुसन्धान गरेको थियो। तर, अन्य कुनै व्यक्तिको संलग्नता पुष्टि हुन सकेन। विभागले चार जनाविरुद्ध मात्र मुद्दा चलाएको छ।
जिल्ला अदालतमा दर्ता भएको भर्चुअल मुद्रासम्बन्धी यो दोस्रो मुद्दा हो। यसअघि बिटक्वाइनसम्बन्धी मुद्दा प्रहरीले २०७४ कात्तिक १२ गते काठमाडौं जिल्ला अदालतमै दायर गरेको थियो। १० जनालाई अभियुक्त बनाई दायर भएको उक्त मुद्दामा पाँच जनालाई दोषी ठहर गर्दै जिल्ला अदालतले फैसला सुनाएको थियो।
त्यसपछि पनि भर्चुअल मुद्राको कारोबार घटेको छैन। करिब डेढ महिनाअघि हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो। हङकङमा खरिद गरेर काठमाडौं भित्र्याउन लागिएको ती डिभाइस क्रिप्टोकरेन्सी कारोबारको डाटा लुकाउन प्रयोग हुन्छ।
ती डिभाइस अष्ट्रेलियामा रहेका एक नेपाली मूलका व्यक्तिले ‘अनलाइन सपिङ’ गरेर नेपाल भित्र्याएका थिए। पेन ड्राइभजस्तो देखिने डिभाइसमा शंका लागेपछि भन्सार कार्यालयले खोलेर हेर्दा ‘क्रिप्टोकरेन्सी’ लेखेको देखे। त्यसपछि बरामद गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जाँचका लागि नमूना पठाइएको थियो। अनुसन्धानका क्रममा ती डिभाइस काठमाडौंकै लागि भित्र्याएको पाइएको प्रहरीले जनाएको छ।
गएको माघ ६ गते नेपाल प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेका तीन जनामा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ छन्। प्रहरीले ठगीको उजुरीमा अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीका कारोबारी फेला परेका थिए। उनीहरूमाथि बैंक तथा वित्तीय संस्था विनिमय ऐन २०७३ अन्तर्गत अनुसन्धान थालिएको छ।
राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक क्रिप्टोकरेन्सी कारोबार गरिसकेको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ। राजनले मंसिरदेखि पुससम्म २६ लाख रूपैयाँ बराबर क्रिप्टोकरेन्सी कारोबार गरेका थिए। उनले नै अन्य दुई जनालाई यसमा संलग्न गराएको बयान प्रहरीलाई दिएका छन्। उनीहरु भर्खर क्याम्पस पढ्ने विद्यार्थी भएकाले अन्य ठूलै समुहको संलग्नता हुन सक्ने अनुमानका आधारमा प्रहरीले विस्तृत अनुसन्धान थालेको जनाएको छ।
यी घटनाबाट नेपालमा गैरकानुनी भएको भर्चुअल मुद्राको कारोबार बढ्दै गएको देखिन्छ। पछिल्ला केही घटनाले नेपालमा क्रिप्टोकरेन्सीको जालो नै लागिसकेको देखिन्छ। यस्ता कारोबारमा संलग्न भएको आरोपमा पक्राउ पर्ने धेरैजसो युवा र विद्यार्थी छन्।
न उजुरी, न अनुसन्धान!
नेपाल राष्ट्र बैंकले नै माघ ९ गते एक सूचना जारी गरेर गैरकानुनी भर्चुअल मुद्राको कारोबारमा वृद्धी भएको जनाएको छ। छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरूको कारोबारमा वृद्धि भएपछि राष्ट्र बैंकले त्यस्तो कारोबार नगर्न सूचना जारी गरेको हो।
कानुनी मान्यता नपाएको वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिएर स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकले जनाएको छ। त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरूमाथि प्रचलित कानूनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।
उता नेपाल बैंकर्स संघले पनि मंगलवार नेटर्वकिङ र क्रिप्टोकरेन्सी कारोबार नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ। यस्तो गैरकानुनी कारोबारबाट सर्वसाधारण ठगिने संघले जनाएको छ। क्रिप्टोकरेन्सी कारोबारमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेपछि राष्ट्र बैंक र बैंकर्स संघले सूचना निकालेर सचेत हुन आग्रह गरेका हुन्।
सरकारले भर्चुअल मुद्रा कारोबार नियमन गर्न कुनै कानुन वा ऐन बनाएको छैन। यस्ता कारोबारीलाई विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा १७ अनुसार मुद्दा चलाइने गरिएको छ। यो कारोबारमा सहभागी हुने र गराउने दुवैले उजुरी नगर्ने भएकाले नियन्त्रण गर्न सजिलो छैन। अहिले विचाराधीन रहेको एक थानबाहेक अन्य कुनै मुद्दा छैन। थप एउटा घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
क्रिप्टोकरन्सी कारोबारबारे हालसम्म उजुरी नआएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले बताए। प्रहरीमा कुनै पक्ष ठगिएको वा गैरकानुनी कारोबार भएको जानकारी आए मात्र अनुसन्धान हुने उनको भनाइ छ।
कतिपय देशमा भर्चुअल मुद्रालाई वैधानिकता दिइएको छ। तर, नेपालमा यस्तो कारोबार वैधानिक बनाउने गृहकार्य नभएको र कानुनले नचिन्ने हुँदा अवैध ठहरिने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए। यसरी हुने कारोबारले देशको आर्थिक गतिविधिलाई असर गर्ने कारण कारबाही गर्नु परेको उनको भनाइ छ।
डलर विनियममार्फत अवैध काम धेरै हुने गरेको भन्दै पछिल्लो पटक नेपाल राष्ट्र बैंकले नै राजश्व अनुसन्धान विभागलाई अनुसन्धानका लागि आग्रह गरेको थियो। अनुसन्धानका क्रममा दिनेश खड्कासहित चार जना फेला परेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। विभागले अन्य केही व्यक्तिबारे पनि अनुसन्धान गरिरहेको उनले बताए।
के हो क्रिप्टोकरेन्सी?
क्रिप्टोकरेन्सी यस्तो भर्चुअल मुद्रा हो, जसको मूल्यमा उतारचढाव आइरहन्छ। यो मुद्राको कारोबारमा संसारको कुनै निकायले नियमन गर्दैन। नेपाललगायत धेरै देशमा यस्तो मुद्राको कारोबार गैरकानुनी छ। तर, छोटो अवधिमै उच्च प्रतिफल पाइने प्रलोभन देखाएर नेपालमा यस्तो कारोबार हुँदै आएको राष्ट्र बैंकले जनाएको छ।
यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ। भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंकले नियमन र नियन्त्रण गर्न सक्दैन। संसारभरिका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।
क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ। सन् २००९ देखि चर्चामा आएको बिटक्वाइन पहिलो क्रिप्टोकरेन्सी हो। अहिलेसम्म संसारमा ११ सय क्रिप्टोकरेन्सी संचालनमा छन्। नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ।
के हो बिटक्वाइन?
ओपन सोर्स सफ्टवेयरको रुपमा जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा बिटक्वाइनको प्रयोग सुरु गरेका थिए। बिटक्वाइनको संस्थापकको श्रेय पाएका सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।
सन् २००९ मा कारोबार सुरु हुँदा एक बिटक्वाइन बराबर १० सेन्ट थियो। यसको मूल्य चार लाख ४३ हजार डलरसम्म पुगेको थियो। यसको कारोबार गर्न कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन। कारोबार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन। यसको कारोबारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने हुन्छ।
विश्वमा अहिले बिटक्वाइनमा लगानी बढिरहेको छ। यो डलर, युरो, भारु वा नेपाली नोटजस्तो कागजी रुपमा छापिँदैन। इन्टरनेटमार्फत विट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्ने, माइनिङ गर्ने, त्यसमा रहेको वालेटमा क्वाइन किनबेच गर्ने र कारोबार गर्ने गरिन्छ। बिटक्वाइन सेयरजस्तै गरी रकम बढ्ने वा घट्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।