काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको मंगलबार बसेको केन्द्रीय पदाधिकारी बैठकले भोलि हुने राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो उम्मेदवार नरहेको प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो।’
विज्ञप्तिमा भनिएजस्तै राप्रपाले राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश १ मा आफ्ना दुई उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ। प्रदेश १ मा महिला, अपांगता/अल्पसंख्यक र अन्य क्लस्टर अन्तर्गत तीन जनाको लागि प्रतिस्पर्धा भइरहेको छ। जसमा राप्रपाले महिला र अन्य क्लस्टरमा उम्मेदवारी दिएको छ।
प्रदेश १ मा राप्रपाका अतिरिक्त सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवार प्रतिस्पर्धामा छन्। महिला क्लस्टरमा राप्रपाकी प्याकुरेलका अतिरिक्त एकीकृत समाजवादीकी जयन्ती देवी राई र नेकपा एमालेकी सुमित्रा सुवेदी भण्डारी प्रतिस्पर्धामा छन्।
त्यस्तै, अन्य क्लस्टरमा राप्रपाका विष्टका अतिरिक्त नेपाली कांग्रेसका गोपालकुमार बस्नेत र एमालेका गुरु प्रसाद बराल प्रतिस्पर्धामा छन्।
अपांगता/अल्पसंख्यक क्लस्टरमा भने राप्रपाले उम्मेदवारी दिएको छैन। त्यहाँ जसपा, नेपालका हेमराज राई र नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा प्रतिस्पर्धामा छन्।
यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी ३६४ जना मतदाता छन्। उनीहरुको मतभार भने ९३१२ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।
स्थानीय तहका १४१ र प्रदेश सभाका ४१ गरी प्रदेश १ मा एमालेका १८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत ४५०६ हुन आउँछ।
अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा)सँग स्थानीय तहका पदाधिकारी १२७ जना छन्। त्यस्तै, प्रदेश सभामा ४९ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४६३८ मत छ।
त्यस्तै, राप्रपासँग स्थानीय तहका ४ र प्रदेश सभाका १ मतदाता छन्। उसँग रहेका ५ जना मतदाताको मत १२० छ। राप्रपाका मतदाताले आफ्ना मात्रै उम्मेदवारलाई मत दिएमा (अरु दलका उम्मेदवारलाई नसघाएमा) सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुनेछ।
एमालेसँग मत कम छ। तर, सत्ता गठबन्धनसँग भन्दा धेरै फरक छैन। १३२ मत मात्रै फरक छ। एमाले र सत्ता गठबन्धनका सबैले आ-आफ्नो पार्टीका उम्मेदवारलाई मत दिएमा गठबन्धनको जित हुनसक्छ। तर, एमालेका सबैले मत दिने र सत्ता गठबन्धनका केही मतदाताले मत नदिएमा एमालेले जित निकाल्ने सम्भावना रहन्थ्यो। झन् राप्रपाले पनि सघाइदिने गरी समीकरण बनेको भए त्यो सम्भावना अझ बढ्यो। तर, गठबन्धनका सबैले मत हाल्ने र राप्रपाले पनि आफ्ना उम्मेदवारलाई मात्रै मत दिने अवस्थामा गठबन्धनकै उम्मेदवारहरुको जित हुने छ।
प्रदेश २ र सुदूरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा राप्रपाको उपस्थिति छ। उसँग बागमती प्रदेशका ४ मतदातासँग १३२ मत, गण्डकी प्रदेशमा २ मतदातासँग ३६ मत, लुम्बिनी प्रदेशमा २ मतदातासँग ३६ मत, कर्णाली प्रदेशमा ३ मतदातासँग ८४ मत छ।
तर, प्रदेश १ बाहेक अन्य सबै प्रदेशमा सत्ता गठबन्धनसँग ठूलो अन्तरसहितको बहुमत छ। त्यसैले प्रदेश १ बाहेक अन्य प्रदेशमा राप्रपाले मत दिनु वा नदिनुले कुनै फरक पर्दैन। त्यसले सत्ता गठबन्धनको जितलाई कुनै अप्ठ्यारो बनाउँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।