काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन गर्ने भएका छन्। बिहीबार नेकपा एमालेका मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा नेपालका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरी एक अर्काका उम्मेदवारलाई सघाउने सहमति गरका हुन्।
सहमति अनुसार मधेश प्रदेशमा अन्य क्लस्टर अन्तर्गत एमालेका उम्मेदवार उसमान अंसारी र महिला क्लस्टर अन्तर्गत लोसपा नेपालकी उम्मेदवार रुपमा कुमारी यादवलाई एक अर्काले सघाउने छन्। ‘मधेश प्रदेशका जनताको चाहना र भावनालाई मध्यनजर राख्दै’ सहमति गरिएको दुवै दलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
मधेश प्रदेशमा राष्ट्रिय सभाको अन्य र महिला क्लस्टर अन्तर्गत निर्वाचन हुन गइरहेको छ। अन्यतर्फ एक पदका लागि दुई जना र महिलातर्फ एक पदका लागि तीन जना प्रतिस्पर्धामा थिए। अन्यतर्फ जसपाका महमद खालिद र एमालेका उसमान अन्सारी प्रतिस्पर्धी छन्। एमालेकै सुमनराज प्याकुरेलको पद रिक्त हुन लागेपछि सो पदमा निर्वाचन हुन लागेको हो।
त्यस्तै, महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल, लोसपा नेपालकी रुपा कुमारी यादव र नेकपा एमालेकी बिना देवीले उम्मेदवारी दर्ता गराएका थिए। एमाले र लोसपाबीचको सहमतिपछि बिना देवीको उम्मेदवारीको अर्थ सकिएको छ। अब माओवादी केन्द्रकी अर्याल र लोसपाकी यादवबीच प्रतिस्पर्धा हुनेछ।
एमाले र लोसपाले गठबन्धन गरेजस्तै मधेश प्रदेशमा सत्ता गठबन्धन पनि छ। सत्ता गठबन्धनमा आबद्ध दलहरुले देशैभर साझा उम्मेदवार उठाएका छन्। गठबन्धनमा आबद्धमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालका मतदाताले आफ्नो उम्मेदवारलाई मत हाल्नेछन्। गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने मधेश प्रदेशमा छैन।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरुले मत दिन्छन्। स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेश सभा सदस्यको प्रत्येकको मतभार ४८ हुने व्यवस्था छ। मधेश प्रदेशमा रहेका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र मधेश प्रदेश सभाका सदस्यहरुको कुल मतभारले यहाँको नतिजाको चित्र प्रष्ट पार्छ।
मधेश प्रदेश अन्तर्गत स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी २६८ मतदाता छन्। त्यस्तै, मधेश प्रदेश सभाका १०४ मतदाता छन्। उनीहरुको कुल मतभार ९८१६ छ। यही ९८१६ मा बहुमत ल्याउन सक्ने दुई क्लस्टरका उम्मेदवारले नै जित निकाल्न सक्छन्।
सुरुमा एमाले र लोसपा नेपालको मतभार हेरौं।
प्रदेश २ अन्तर्गतका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी एमालेका २९ जना मतदाता छन्। त्यस्तै, लोसपा नेपालका ४२ मतदाता छन्। प्रतिमतदाताको मतभार १८ का दरले स्थानीय तहबाट उनीहरुको मत १२७८ हुन्छ। त्यस्तै, प्रदेश सभामा एमालेका ८ र लोसपा नेपालका १६ सदस्य छन्। प्रतिमतदाताको मतभार ४८ का दरले उनीहरुको मत ११५२ हुन्छ। दुवैतिर (स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य) को मत जोड्दा एमाले र लोसपा नेपालको गठबन्धनसँग २४३० मत हुन्छ।
यही प्रदेश अन्तर्गतको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विजयी भएका थिए। उनको पक्षधरता स्पष्ट छैन। उनले एमाले गठबन्धनलाई मत दिए भने सो गठबन्धनसँग २४४८ मत हुन्छ।
अर्कोतिर, सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा, नेपालसँग स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी कुल १९५ मतदाता छन्। प्रतिमतदाता १८ मतभारका दरले ३५१० मत हुन्छ। प्रदेश सभामा पनि उनीहरुसँग ७९ मतदाता छन्। प्रतिमतदाता ४८ का दरले उनीहरुसँग ३७९२ मत हुन्छ। दुवैतिर (स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य) को मत जोड्दा सत्ता गठबन्धनसँग ७३०२ मत हुन्छ।
यसरी मधेश प्रदेशमा एमाले र लोसपा गठबन्धनभन्दा सत्ता गठबन्धनसँग तेब्बरभन्दा बढी मत देखिन्छ। प्रदेशमा नेपाली जनता दलसँग १८ र नेपाल संघीय समाजवादी पार्टीसँग ४८ मत छ। तर, ती मत जितहारका लागि निर्णायक बन्न सक्दैनन्। त्यसैले सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चितप्रायः छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।