काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको मतदानको मतगणना सुरु भएको छ। पदाधिकारीमा टुंगिन बाँकी पाँच सहमहामन्त्रीको मतगणना सुरू भएको हो।
आठ समूहमध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ। बाँकी पाँच क्लस्टरमध्ये मुस्लिम, मधेसी र खसआर्य तर्फको गणना सुरू भएको हो। थारू र पिछडिएको क्षेत्रको मत गणना पनि केही बेरमा सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
क्लस्टरअनुसार फरक–फरक ठाउँमा मतगणना सुरू भएको छ। कांग्रेसका आठ सहमहामन्त्रीमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको छ। हिजो भएको मतगणनाबाट महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन्। दलित समूहमा शेखर पक्षका जीवन परियार विजयी भएका छन्।
परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् भने उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन्।
खसआर्यतर्फ देवराज चालिसे (शेखर पक्ष) र किशोर सिंह राठोर (देउवा पक्ष) उम्मेदवार रहेका छन् भने पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे (शेखर पक्ष), जीवन ब शाही (देउवा पक्ष) र चेतनाथ बरालबीच प्रतिस्पर्धा भएको थियो। बरालले निधि समूहबाट उम्मेदवारी दिएका थिए।
त्यसैगरी, मधेशी तर्फ देउवा पक्षका महेन्द्र यादव र शेखर पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धा भएको थियो भने मुस्लिमतर्फ फर मुल्लाह मन्सुर (देउवा पक्ष) र शेख वकील (शेखर पक्ष) भिडेका छन्।
त्यसैगरी, थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र शेखर पक्षबाट तेजुलाल चौधरी चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।