काठमाडौं- पार्टीको महाधिवेशनले कसैलाई स्थापित गर्ने मात्रै होइन, कसैको औचित्य पनि अन्त्य गरिदिँदोरहेछ। कांग्रेस महाधिवेशनमा भएको चुनावी प्रतिस्पर्धाबाट केही नयाँ पात्रको जबर्जस्त उदय भएको छ। जबर्जस्त यसकारण कि, उनीहरु जुन समूहमा बसेर प्रतिस्पर्धा गरेका थिए, सो समूहका सभापतिका उम्मेदवारहरुले पाएको मतभन्दा उनीहरुले पाएको मत बढी हुन आयो। यसले उनीहरुको लोकप्रियता र उनीहरुप्रतिको अपेक्षा पनि दर्शाउँछ।
महामन्त्रीका लागि भएको चुनावको बिहीबार सार्वजनिक अन्तिम मतपरिणाममा आशाका नजरले हेरिएका दुई नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। उनीहरुको जितलाई धेरैले कांग्रेसको आगामी नेतृत्वमा काँध थाप्ने भरपर्दो नेताको उदयको रुपमा बुझेका छन्। उत्साहित कार्यकर्ताले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा नारा नै लगाए- 'कांग्रेसभित्र क्रान्ति, गगन-विश्व महामन्त्री।' गगनलाई त उनीहरुले आगामी प्रधानमन्त्रीको रुपमा समेत चर्चा गरे- नेपाली कांग्रेसको महामन्त्री, अब देशको प्रधानमन्त्री।
पछिल्ला दिनमा कांग्रेसभित्र उठिरहेको पुस्तान्तरण र रुपान्तरणको नाराले ठूलो अंशमा सफलता पाएको छ। सभापतिमा शेरबहादुर देउवा नै निर्वाचित भएको भए पनि यो २०७२ सालको तेह्रौं महाधिवेशनपछिको कांग्रेस होइन भन्नेचाहिँ प्रष्टै बुझ्न सकिन्छ। धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताको भइसकेको विजय र अन्य यस्तै नेता विजय हुने सम्भावनालाई आकलन गरेर त्यति भन्न सकिन्छ।
नयाँ पालुवा पलाएसँगै पुराना पातहरु पहेँलिनु र झर्दै जानु स्वाभाविक हो। त्यहीमाथि चुनाव चिह्न नै 'रुख' भएको कांग्रेसका सन्दर्भमा यो विषय उत्ति नै प्राकृतिक पनि हो। यसपटक कांग्रेसको टुप्पामा दुई पातहरु भने पहेँलिएको प्रष्टै देखिएको छ, उनीहरु हुन्- रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला।
पौडेलको मौनताले निम्त्याएको क्षति
यो महाधिवेशनबाट सबैभन्दा बढी कसैले केही गुमाए भने उनी रामचन्द्र पौडेल हुन्। यो महाधिवेशन यस्तो 'टर्निङ प्वाइन्ट' हुनपुग्यो, जसबाट पौडेलले लामो समयदेखि सजाएको पार्टी सभापति र प्रधानमन्त्री बन्ने चाहनालाई पूर्णविराम लगाइदियो। जुन पंक्तिले उनलाई सम्मानपूर्वक आदर गर्थ्यो, त्यसको धरातल पनि कमजोर भयो।
सुशील कोइरालाको निधनपछि सो समूहको उत्तराधिकारीको रुपमा पौडेल उभिएका थिए। तेह्रौं महाधिवेशनमा उनले सो समूहको नेतृत्व गर्दै सभापतिमा प्रतिस्पर्धा पनि गरेका थिए। तर, सुशीलको निधनपछिका पाँच वर्ष १० महिनाको अवधिपछि उनीबाट सो समूहको अभिभावकत्व फुस्किएको छ।
पौडेलले आफ्नो अभिभावकत्वमा रहेको ठूलो समूहलाई एकीकृत राख्न सकेनन्। त्यस्तै, आफ्नो समूहबाट सभापतिको रुपमा आफूलाई सर्वसम्मत बनाउन सकेनन्। त्यसैले अन्तिममा उनको समूहभित्र सभापतिको उम्मेदवार बन्ने होड चल्यो। न उनले आफूलाई एकल उम्मेदवार बनाउन सके, न अरुलाई बन्न दिए। बरु आँसु पुछ्दै भने- 'या त तपाईं दुई जना मिलेर मलाई सहयोग गर्नुस्। या त तपाईंहरु दुई जनामध्ये को हुने हो हुनुस्। एक जना हुनुभयो भने तपाईंहरुलाई म सहयोग गर्छु। उहाँहरु त्यसका लागि तयार हुनुभएन। भइगयो त तपाईंहरु लड्नुस्। मचाहिँ यस्तो अवस्थामा यो दलदलभन्दा बाहिर रहन चाहन्छु।'
दलदलबाट बाहिर रहनु पार्टीभित्रको पुस्तान्तरणको दृष्टिले स्वस्थ र स्वाभाविक जीवनचक्र हुनेथियो। यदि उनले त्यसपछि केही रणनीतिक कदम चालिदिएको भए नेपाली कांग्रेस नयाँ सम्भावनाको मूलबाटोमा हुने थियो। तर, नेपाली राजनीतिमा संकीर्ण चेतयुक्त नेताको रुपमा चिनिने पौडेलले आफ्नो ऐतिहासिक भूमिका बिर्सिए र खोक्रो तटस्थतामा अल्झिए।
मनोनयन सुरु हुनुअघि मंसिर २५ गते पौडेलले विज्ञप्ति जारी गरे। मूलतः कुण्ठा अभिव्यक्त गरिएको सो विज्ञप्तिमा पौडेलले भनेका थिए- 'प्रतिस्पर्धाबाट म अलग रहेपनि आस्थावान साथीहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेच्छा गर्दछु।'
प्रतिस्पर्धाबाट अलग रहने घोषणा उनको त्याग थिएन। सभापतिको उम्मेदवार बन्ने अनेक प्रयास असफल भएपछिको बाध्यतात्मक परिस्थिति थियो। किनकि, उनीसँग प्रतिस्पर्धाबाट अलग रहनुको अर्को विकल्प त्यतिञ्जेल सकिइसकेको थियो।
तैपनि पौडेल समूहको आधिकारिक उम्मेदवार भनेर चिनिएका थिए, शेखर कोइराला। तर, पौडेलले उनलाई सहयोग गरेनन्। सन्देहात्मक गतिविधि गरे। उनले संवेदनशील समयमा देउवालाई भेटे, जसले गर्दा उनीहरुबीच कुनै सहमति भइसकेको जस्तो सन्देश प्रवाह भयो। जीवनभर लोकतन्त्रका लागि संघर्ष गरेका उनले आफू उम्मेदवार बन्न नपाउने भएपछि मत हाल्नै नजाने जस्तो कच्चा निर्णय समेत गरे।
दोस्रो चरणको निर्वाचन हुनुअघि पनि पौडेलले देउवा समेतलाई बोलाएर चियापान कार्यक्रम आयोजना गरे। आफ्नो पक्षका नेताहरु सामुन्ने चुनावको समयमा देउवालाई बोल्ने मञ्च दिए। त्यहाँ उनलाई शेखरको पक्षमा खुल्न दबाब पनि परेको थियो। तर, उनले भने ‘विवेक प्रयोग गर्नुस्’ भन्नेजस्तो असान्दर्भिक तर्क गरे। राजनीतिमा तटस्थताको अर्थ रहँदैन भन्ने दशकौं सक्रिय राजनीति गरेका व्यक्तिलाई थाहा नहुने कुरै थिएन। तर, उनले आश्चर्यजनक व्यवहार देखाए।
पौडेलले मौनताबाट कुनै महानता जोगाएनन् बरु तुलनात्मक रुपमा स्वच्छ छबि रहेको समूहको नेतृत्व र विश्वास गुमाए। पौडेलका कदमप्रति असन्तुष्ट गगन थापा, जो पछिल्लो समय पौडेल समूहमै थिए, उनले बुधबार भनेका छन्- ‘शेखर कोइराला निर्वाचन लड्दै गर्दा बलबहादुर केसी र अर्जुननरसिंह केसीबाहेक सिनियर नेता कोही देख्नुभयो? आज सबै जना नेताले छोडेर हिँड्नुभएको होइन? सबैले विवेकको मत प्रयोग गर भन्नुभएको होइन?‘
सबैले साथ छाड्दा पनि महाधिवेशन प्रतिनिधिहरु र आफूहरु शेखर कोइरालाको पक्षमा उभिएको र प्रतिकूल अवस्थामा पनि सानदार ढंगले निर्वाचनलाई दोस्रो चरणसम्म पुर्याएको थापाले बताए। ‘दोस्रो चरणमा सबैले मत घट्छ भनिरहँदा पनि उहाँले प्रतिस्पर्धा गर्नुभयो,’ उनले भने, ‘दोस्रो चरणमा ४० प्रतिशत मतसहित उहाँले आफ्नो निर्वाचन यात्रालाई टुंग्याउनुभएको छ। म शेखर कोइरालालाई यो साहसका निम्ति हार्दिक बधाई दिन चाहन्छु। सम्मान प्रकट गर्न चाहन्छु।‘
थापाको जस्तै भाषामा चन्द्र भण्डारी र मीनेन्द्र रिजालले पनि प्रहार गरे। बुधबारको धन्यवाद ज्ञापन कार्यक्रममा भण्डारीले यो महाधिवशेनमा आफूहरुले मानेका धेरै व्यक्तिहरुलाई चिन्न पाइएको बताए। रिजालले अप्ठ्यारोमा व्यक्तिको चरित्र छुट्टिने भन्दै यसपटक सुन र पित्तल छुट्टिएको बताए। उनीहरुको कुराले अब पौडेलको अभिभावकत्व स्वीकार्य नभएको बरु शेखरलाई अभिभावकको रुपमा स्वीकार गरिएको बुझ्न सकिन्छ।
यसरी पाँच वर्षभरि देउवाको पार्टी सञ्चालन शैलीको आलोचना गरेका पौडेलको अन्तिम केही दिनको भूमिकाले उनै देउवालाई फाइदा पुग्यो। यसका केही परिणाम उनले भोगिसके, केही पछुतो आगामी दिनमा व्यक्त होलान्।
बदलाभावले सकिएका सिटौला
तेह्रौं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलाले जित निकाल्न त सकेनन् तर, एउटा गुटको नेताको रुपमा चर्चामा रहे। सिटौला समूह त्यही हो जसले आफूलाई वैचारिक समूहको रुपमा दाबी गर्छ। तर, व्यावहारिक रुपमा भने आफूलाई अवसरवादी गुटको रुपमा स्थापित गर्दै लगेको छ। चौधौं महाधिवेशन उनको सोही शैली प्रमाणित गर्ने अवसर बन्यो।
कांग्रेसमा नेतृत्व परिवर्तन र सुधारको चर्चा गरेर नथाक्ने सिटौलाले महाधिवेशनको प्रक्रिया सुरु भएसँगै देउवालाई सघाउन थालेका थिए। पालिकादेखि जिल्ला र प्रदेशसम्मका अधिवेशनमा उनले देउवासँग मिलेर निर्वाचन लडेका थिए। एउटा गुटको नेताको रुपमा उनलाई संस्थापन समूहसँग मिल्दा फाइदा पुग्यो नै, तर उनले गरिरहेका वाचाको भने सान्दर्भिकता सकिएको छ।
महाधिवेशनमा आफू पनि प्रतिस्पर्धी बन्ने सिटौलाको घोषणा थियो। तर, त्यसलाई उनले दाउपेचको विषय बनाए। किनकि, निर्णायक समयमा उनी पछि हटे। र, प्रदीप पौडेललाई आफ्नो समूहको उत्तराधिकारी प्रतीत हुनेगरी घोषणा गरे। मंसिर २३ गते आफू पक्षका महाधिवेशन प्रतिनिधिहरुको भेला राखेर उनले प्रदीपलाई अघि सार्ने बताए। २४ गते महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उसैगरी प्रदीप पौडेलको नाम लिए। आफूसँग रहेका युवा नेताहरुलाई अघि बढाउने उनको भाषण लोभलाग्दो थियो। तर, भित्रभित्रै देउवासँग गरिएको समझदारी उत्तिकै आलोचनायोग्य पनि।
सिटौला आफू उम्मेदवार भएनन्। अघिल्लो महाधिवेशनभन्दा पनि कम मत आउने अवस्थामा निर्वाचनमा होमिनु जोखिमपूर्ण नै हुन्थ्यो। अर्कोतिर, आफ्नो प्यानलका उम्मेदवारको झन् कमजोर मत आउने थियो। त्यसपछि उनलाई नेतृत्व मानेर बस्ने नेताहरुले समूह परिवर्तन गर्न सक्थे।
यसरी देउवाका लागि सबैभन्दा पहिले काँध थाप्न तयार भए, सिटौला। जबकि, वर्षौंवर्ष देउवासँगै रहेका विमलेन्द्र निधिजस्ता नेताहरु उनको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै बाहिरिएका थिए। (उनीहरु पछि देउवासँगै उभिए, त्यो बेग्लै कुरा हो।) तेह्रौं महाधिवेशनमा दोस्रो चरणमा देउवाको साथमा उभिएका सिटौला यसपटक अझ अघि बढे र पहिलो चरणमै साथ दिए।
आफ्नो समूह छाडेर जाने गगनप्रति उनको बदलाभाव देखिन्थ्यो। आफूलाई छाडेर जाँदा नराम्रो हुने र त्यसको असर महाधिवेशनमा पर्ने चेतावनी उनले दिइसकेका थिए। गगनलाई काउन्टर दिन नै उनले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बनाएको र प्रचार गरेको बुझ्न नसकिने विषय होइन।
अर्कोतिर, उनको तारोमा थिए, विश्वप्रकाश शर्मा। जिल्लाकै राजनीतिमा तीतो सम्बन्धबाट गुज्रिरहेका शर्मालाई रोक्न पनि सिटौलालाई देउवासँग उभिनु रणनीतिक महत्त्वको विषय थियो। तर, एक तीरले दुई शिकार गर्ने उनको प्रयास सफल हुन सकेन।
मुख्य विषय चाहिँ तेह्रौ महाधिवेशनमा गुट बनाएर साढे पाँच वर्षसम्म पार्टीभित्र देउवाको बलमिच्याइँका सारथि बनेका उनको गुट भने सकिएको छ। देउवासँग उनको हिसाबकिताब नगदमै भइसकेको छ। किनकि उनी देउवाको पक्षमा उभिए, देउवाले आफ्नो प्यानलमा सिटौला पक्षका नेताहरुलाई स्थान दिए। त्यसैले अब उनको गुट देउवा गुटमै विलय भइसकेको छ। केही हदसम्म उनले अब पनि आफ्नो गुटको अभ्यास गर्न खोज्लान् तर, त्यो उनको रहर मात्रै हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।