काठमाडौं- ‘वैचारिक समूह’का रुपमा परिचित कांग्रेसको तेस्रो धारको नेतृत्व कृष्णप्रसाद सिटौलाले गर्छन्। २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनको आसपास जन्मिएको उक्त धारले ६ वर्ष पूरा गर्न नपाउँदै उत्तराधिकारीको संकेत देखापरेको छ।
कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनसँगै सिटौलाको ‘एकलानुभूति’ले यो धारको जन्म भएको थियो। उनले लामो समयदेखि सघाउँदै आएको कोइराला परिवारको राजनीतिक निरन्तरताको जिम्मेवारी रामचन्द्र पौडेलको काँधमा आएको थियो। त्यसैक्रममा सिटौला उछिट्टिए। त्यसरी उछिट्टिएका सिटौला १३औं महाधिवेशनमा सभापतिमा पौडेलको हारको कारण बने।
२०७२ सालमा आफ्नो धार निर्माण गर्दा सिटौलासँग गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं लगायतको साथ थियो। यसबीचमा थापा त्यो धारबाट बाहिरिए थापाजस्ता प्रभावशाली नेताहरुको बहिर्गमन र सिटौलाले पनि कुनै प्रभाव देखाउन नसक्दा यो समूह ‘सकियो’ भन्ने चर्चा चल्यो।
बिहीबार भने सिटौलाले आफ्नो शक्तिलाई कम आकलन नगर्न चुनौती नै दिए। त्यो सन्देश प्रवाह गर्नका लागि उनले आफ्नो सम्पर्क कार्यालयमा ‘बृहत् भेला’ आयोजना गरेका थिए।
६ महिनाभन्दा अघि नै सिटौलाले गौशालामा आफ्नो सम्पर्क कार्यालय खोलेका थिए। १४औं महाधिवेशनलाई केन्द्रमा राखेर खोलिएको भए पनि समयमै महाधिवेशन हुन नसकेपछि सो कार्यालयको खासै उपयोग हुन सकेको थिएन। १४ औं महाधिवेशन सुरु हुनुभन्दा एकदिन अघि मात्रै सिटौलाले आफ्नो सम्पर्क कार्यालयको भरपुर सदुपयोग गरे। महाधिवेशन प्रतिनिधिमा चुनिएका आफू निकटका नेताहरुलाई राखेर उनले अर्थपूर्ण सन्देशहरु दिए।
सिटौलाले आफ्नो पछिल्लो रणनीति पनि स्पष्ट पारिदिए। संकटका बेलामा साथ दिनेहरुप्रति उनी अनुग्रहित पनि सुनिए। ‘संकटका बेलामा साथ दिनेलाई नेतृत्वमा स्थापित गर्ने मेरो लक्ष्य हो’, उनको भनाइ थियो।
भेलामा सिटौलाले आफूले युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको पनि सन्देश दिए।
गगन थापाको बहिर्गमनपछि यो समूह संकटमा परेको सिटौलाको बुझाइ छ। त्यसैले त्यतिबेला आफ्नो साथ नछोडेकालाई ‘उचित व्यवस्थापन’ गर्ने उनको अठोट देखिन्छ। ‘संकटको बेला’मा उनलाई साथ दिएका प्रमुख सारथिको रुपमा उनले प्रस्तुत गर्ने व्यक्ति हुन्– प्रदीप पौडेल।
अहिले सिटौला समूहभित्र उनकै नेतृत्वमा प्यानल घोषणा गरेर चुनाव लड्ने, देउवासँग मिल्ने वा रामचन्द्र पौडेल समूहसँग मिल्ने भन्नेमा छलफल जारी छ। प्रधान, चौधरी र हुमागाईं लगायतले संस्थापन पक्षसँग मिल्नुपर्ने सुझाव राख्दै आएका छन्। प्रदीप पौडेल भने सभापति देउवाको विरोधमा थिए। देउवाका विधान विपरीतका कार्यमा उनको चर्को असन्तुष्टि रहन्थ्यो। विभाग गठन हुँदै गर्दा एक विभागको प्रमुखमा पौडेललाई नियुक्ति गर्ने सभापति देउवाको तयारी थियो। पौडेल विवादित विभागमा बसेनन्।
प्रदीप पौडेलको विचारमा अडिग रहने र अध्ययनशील स्वभावले सिटौलालाई छोएको छ। उनी नै आफ्नो समूहको कुशल नेतृत्व हुने सिटौलाको बुझाइ छ। उनले नेतृत्वमा स्थापित गर्ने लक्ष्य राखेका व्यक्ति पनि उनै हुन्। त्यसका लागि महामन्त्रीको उम्मेदवार नै बनाइसकेका छन्। पौडेलले एक महिनाअघि नै सिटौलासँगको सल्लाहमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए।
पौडेललाई महामन्त्री बनाउन सके तेस्रो धार निरन्तर रहने सिटौलाको बुझाइ छ। त्यसका लागि फाइदा पुग्ने पक्षसँग सहकार्य गर्ने सम्भावना पनि छ। आफूलाई उपसभापति, पौडेललाई महामन्त्री र केहीलाई सहमहामन्त्रीमा व्यवस्थापन गर्ने उनको प्रयास छ। त्यसैले पनि उनी दुई पक्षको बैठकका निर्णय कुरेर बसेका छन्। आफ्नो रणनीति अनुसारको प्रस्ताव आए जुनसुकै पक्षसँग सहकार्य गर्न उनी तयार छन्।
महाधिवेशनमा आफ्नो पक्षको सम्मानजनक हिस्सेदारी नभए आफ्नो तर्फबाट छुट्टै प्यानल हुने प्रदेश १ का सभापति उद्धव थापा बताउँछन्। ‘प्रदेश १ र बागमतीमा संस्थापन पक्षसँग सहकार्य गर्यौं। केही जिल्लामा पनि सहकार्य भएको छ’, सिटौला पक्षबाट प्रदेश १ को सभापतिमा विजयी थापाले भने, ‘संस्थापन पक्षबाट गठबन्धन हुने सम्भावना बढी छ। सम्माजनक उम्मेदवार नदिए हामीले छुट्टै प्यानल बनाउँछौं।’
अन्य पक्षको निर्णयको आधारमा आफ्नो उम्मेदवारी दिने/नदिने निर्णय गर्ने सिटौलाको रणनीति छ। ‘चुनावमा नोमिनेशनअघि मात्र म कुरा राख्ने छु’, उनले भने, ‘साथीहरुलाई बलियो बनाउन सकेमात्र म बलियो हुन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।