काठमाडौं- नेपाली कांग्रेसका नयाँ सभापति चयनका लागि सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले विजयी हुने सीमा, ५० प्रतिशत मत कटाउन सकेनन्। त्यही कारण सभापति चयन गर्न फेरि दोस्रो चरणमा मतदान हुने भयो। दोस्रो चरणमा भने पहिलो चरणमा पहिलो र दोस्रो चरणमा आएका उम्मेदवारहरु शेरबहादुर देउवा र डा शेखर कोइराला प्रतिस्पर्धामा छन्।
तर, दोस्रो चरणको मतदान हुनुअघि नै आफूसहित सभापतिका चारजना प्रत्यासी एकतिर उभिँदा देउवालाई बल पुगेको छ। पहिलो चरणका पाँचजना प्रत्यासीमध्ये शेखर दोस्रो चरणमा एकातिर छन् भने देउवासहित चारैजना अर्कोतिर छन्। पहिलो चरणको निर्वाचनबाट सफल नभए पनि देउवाले दोस्रो चरणमा आफू अनुकूल समीकरण बनाएका छन्।
गठबन्धन गरेर आफ्नो पक्षमा नतिजा निकाल्ने मामिलाका चतुर खेलाडी देउवाले पार्टी सभापतिमा दोहोरिन आफ्नो सोही क्षमता प्रयोग गरेको घटनाक्रमले देखाउँछन्।
नेपाली कांग्रेस निर्वाचन समितिको आधिकारिक जानकारीअनुसार पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेको थियो। जसमा ७६ मत बदर भएको थियो। देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत ल्याएका छन्। चुनावमा होमिइसकेपछि कोइराला पक्षले अपेक्षाकृत नै मत ल्याएको देखिन्छ। तर, कांग्रेसलाई नेतृत्व गर्ने अवसरबाट भने कोइराला चुक्ने स्पष्ट जस्तै भइसकेको छ।
कोइराला पक्षको अहिले अवस्था अनपेक्षित भने होइन। त्यसका लागि लामो समयदेखि गर्दै आएको कमजोरीको प्रतिफल निर्वाचन परिणाममा देखिन पुगेको हो।
शेखरलाई 'अस्वीकार'
शेखर कोइराला केही वर्षअघिदेखि नै सभापतिको तयारी गरिरहेका थिए। त्यसका लागि उनले जिल्ला दौडाहा सुरु गरेका थिए। तल्ला तहका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्क र छलफलमा रहेका उनलाई आफूले सभापति जित्ने आत्मविश्वास बढेको थियो। प्रस्ट बोल्ने र कुनै विवादमा नपरेका उनले कांग्रेसभन्दा बाहिरबाट पनि सहानुभूति पाएका थिए।
तर, कोइरालालाई नेता मान्न पौडेल समूहका कतिपय नेताहरु नै तयार भएनन्। धेरैलाई लाग्यो- 'कांग्रेसमा शेखरको भन्दा हाम्रो योगदान बढी छ। हामीले ४०/५० वर्षदेखि राजनीति गर्दै आएका छौं।'
उनीहरुका लागि शेखर 'नवप्रवेशी' भए। किनकि, उनी मुख्यतः ६० को दशकबाट कांग्रेसमा सक्रिय भएका थिए। 'अस्ति आएको नेताले हामीलाई उछिन्न खोज्ने?' भन्ने सोच उनीहरुमा देखिएको थियो। जसले गर्दा शेखरलाई नेतृत्वको रुपमा स्वीकार्न आनाकानी गरियो। प्रकाशमान सिंहले त सार्वजनिक रुपमै उमेरमा शेखर जेठो भए पनि राजनीतिमा आफू जेठो भएको धारणा नै राखे।
प्रकाशमानले शेखरलाई छाडेको भए पनि वा शेखरले प्रकाशमानलाई छाडेको भए पनि संस्थापन इतरपक्षबाट एउटा उम्मेदवार बन्न सक्थ्यो। तर, कुनै बेला गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरेर देउवाले पार्टी विभाजन गर्दा साथ दिएका प्रकाशमानलाई कोइराला पक्षले सभापतिमा स्वीकार्न कठिन थियो। अर्कोतिर, कांग्रेस भनेको कोइराला परिवारकै छत्रछायाँमा सञ्चालन हुनुपर्छ भन्ने मानसिकताले पनि काम गर्यो। सिंहको देशव्यापी प्रभाव छैन भन्ने अर्को बुझाइ पनि थियो। शशांक कोइरालाले भनेकै थिए- प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैनन्।
प्रकाशमानलाई पनि कोइराला परिवारलाई स्वीकार गर्नुपर्ने कुनै बाध्यता थिएन। उनका पिता गणेशमानलाई गिरिजाप्रसाद कोइरालाले रुँदै पार्टी छाड्न बाध्य पारेको इख उनीसँग पनि पक्कै थियो। अर्कोतिर, उनी देउवा नेतृत्वमा भएको पार्टी विभाजनको उच्च तहका नेता थिए। कोइराला परिवारप्रति उनको मोहभंग भएको पनि त्यहीबेला नै हो।
हतारमा निर्णय
यसरी को उम्मेदवार बन्ने भन्ने निर्क्योल नहुँदै महाधिवेशनले छोपिहाल्यो। संस्थापनइतर भनेर चिनिएको रामचन्द्र पौडेल नेतृत्वको यो समूहले बेलैमा सभापतिको उम्मेदवार टुङ्ग्याउन सकेन। त्यहाँ रहेका आधा दर्जनजति नेताले आफू नै सभापतिका उम्मेदवार भएको बताइरहेका थिए। रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला जस्ता नेता त अन्तिमसम्म सभापतिको उम्मेदवार बन्न प्रयासरत नै थिए। त्यसले उनीहरुबीच सके आफैं सभापतिको उम्मेदवार बन्ने, नभए अर्कोलाई सहयोग नगर्ने 'इगो' विकास भयो।
नेताहरुको जसरी पनि आफैं सभापतिको उम्मेदवार हुने अडानले गर्दा रामचन्द्र पौडेल पछि हटे। शेखर र प्रकाशमानप्रति दिक्क सुनिएका उनले भनेका थिए- 'मैले साथीहरुलाई धेरै कोसिस गरेँ, तपाईंहरु एक जना भइदिनुस्, म सहयोग गर्छु। खुलेर सहयोग गर्छु। तर, अन्तिममा दुई जना साथीहरुको बीचमा सहमति भएन। भइगयो त तपाईंहरु लड्नुस्। मचाहिँ यस्तो अवस्थामा यो दलदलभन्दा बाहिर रहन चाहन्छु।'
२४ गते महाधिवेशन उद्घाटन भयो। उद्घाटन समारोहपछि रातिसम्मै पौडेलपक्षबाट एकल उम्मेदवार छान्न बैठक बसिरहेको थियो। २५ गते मनोनयनअघि मात्रै शेखर उम्मेदवार बन्ने तय भयो। तर, त्यतिञ्जेल रामचन्द्र पौडेलले आँसु पुछेको भिडियो सार्वजनिक भइसकेको थियो। प्रकाशमान बाजागाजा बजाइरहेका थिए। शशांक मौन थिए।
एकले अर्कोलाई स्वीकार गर्न नसक्ने स्थितिमा एउटा समूहको उम्मेदवार शेखर बनेका थिए। सो समूहको बैठकका केही सन्दर्भ अर्थपूर्ण छन्।
शेखरले आफूले जिल्ला-जिल्ला घुमेर सभापतिका लागि तयारी गरिरहेको र आफू लोकप्रिय रहेको बताएका थिए। प्रकाशमान सिंहको जवाफ थियो- 'लोकप्रिय भएर हुँदैन। लोकप्रिय नै उठ्ने भए गगनलाई उठाए भयो नि त।' अर्को सन्दर्भमा उनले भनेका थिए- 'तेह्रौं महाधिवेशनमा ३०० मत ल्याएर सिटौलाले पार्टीमा भागबण्डा गरेर खाइरहेका छन्। अहिले उठियो भने गुट बन्छ। पछिसम्म भागबण्डा पाइन्छ।'
शेखरले एक सन्दर्भमा भनेका थिए- 'सबैले रामचन्द्र पौडेललाई समर्थन गर्ने हो र उहाँलाई एकल उम्मेदवार बनाएर अघि बढ्ने हो भने म उपसभापति बन्न तयार छु।' बलबहादुर केसीले जवाफ फर्काए- 'तपाईंको के भर? नमान्न पनि सक्नुहुन्छ।'
आफ्नै समूहभित्रको अविश्वास र असहयोगको प्रस्ट सम्भावनाका बीच शेखर २५ गते उम्मेदवार बने। उनले उम्मेदवार बन्नकै लागि धेरै दौडधुप गर्नुपरेको थियो। उनले चुनाव जित्नका लागि निर्णायक हुने आवश्यक रणनीति अख्यियार गर्न सकेनन्। जबकि, त्यतिञ्जेल देउवाले भने आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरेर त्यसका लागि आवश्यक सबै तयारी गरिसकेका थिए। सिटौलासँग निरन्तर संवाद र गठबन्धन गर्ने निर्णय त्यसकै परिणाम थियो।
बोलिदिनुपर्नेहरु नै मौन बसे
रामचन्द्र पौडेलले नेतृत्व गर्ने समूहको आधिकारिक उम्मेदवारको रुपमा शेखरलाई प्रस्तुत गरियो। तर, उनै पौडेलले कोइरालाको पक्षमा खुलेर बोलिदिएनन्। बरु आफैं सभापतिको उम्मेदवार बन्ने शेखर समेतको अड्डीले गर्दा आफू पछि हट्नुपरेको अभिव्यक्ति दिए। उनको गुनासो नै थियो- शेखर र प्रकाशमानले आफ्ना लागि ठाउँ छाडेनन्। 'उहाँहरुसँग धेरै चरणमा मैले कुरा गरेँ। या त तपाईंहरु दुई जना मिलेर मलाई सहयोग गर्नुस्। या त तपाईंहरु दुई जनामध्ये को हुने हो हुनुस्। म तपाईंहरुलाई सहयोग गर्छु। एक जना हुनुभयो भने सहयोग गर्छु भनेँ। तर उहाँहरु त्यसको लागि पनि तयार हुनुभएन,’ २५ गते बिहान पौडेलले आफ्नो निवासमा भनेका थिए।
सोही दिन पौडेलको विज्ञप्ति सार्वजनिक भयो। त्यो मूलतः उनको गुनासो थियो। तर, पनि उनले चुनावी प्रतिस्पर्धामा रहेका कसैको पक्षमा आफूलाई खुलाएनन्। 'प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु,' उनले २५ गते जारी गरेको विज्ञप्तिमा भनिएको थियो।
पौडेल मत हाल्नसमेत गएनन्। मताधिकार प्रयोग गर्ने वा नगर्ने व्यक्तिगत कुरा भए पनि कांग्रेसको सन्दर्भमा उनको सो निर्णयको पछि पनि समीक्षा होला नै। तर, शेखरप्रति असन्तुष्ट रहेको सन्देश दिन भने पर्याप्त भइदियो। दोस्रो चरणको मतदानअघि उनले आयोजना गरेको चियापानमा पनि उनलाई शेखरको पक्षमा खुल्न कार्यकर्ताले दबाब दिएका थिए। तर, उनी 'विवेक प्रयोग गर्नुहोस्' भन्ने सन्देशमै रोकिए।
उनकै भाइ शशांक पनि शेखरको पक्षमा खुलेर बोलिदिएनन्। आफैं सभापतिका उम्मेदवार बन्ने प्रयासमा असफल भएका उनले शेखरको पक्षमा कुनै सार्वजनिक वक्तव्य दिएनन्। कोइराला परिवारकै अर्की सदस्य सुजाता कोइराला प्रकाशमानको उपसभापतिको उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा होमिइन्। अर्जुन नरसिंह केसी जस्ता नेताहरु, जसले आफ्नो पक्षका कुरा प्रस्टसँग र सम्प्रेषणीय ढंगले राख्न सक्छन्, सोहीअनुसार सक्रियता देखाएनन्।
अर्कोतिर, पौडेल र शशांकले देउवालाई भेटे। सोमबार बिहान उनीहरुले भेटेपछि मतदातामा उनीहरुले देउवालाई नै सहयोग गरे कि भन्ने आशंका व्यक्त भयो।
त्यसो त प्रतिनिधि चयनकै बेलादेखि देउवा, पौडेल र सिटौला पक्षका भन्ने भाष्य निर्माण भएको थियो। त्यसैले धेरै मतदाताका निम्ति उनी आफ्ना उम्मेदवार हुनै पाएनन्, पौडेल उम्मेवार नबनेपछिका वैकल्पिक उम्मेदवार जस्ता भए। त्यसैले प्रतिनिधिहरुले पनि खुलेर उनको पक्षमा पहल गर्न सकेनन्। जस्तो कि, तेह्रौं महाधिवेशनमा दोस्रो चरणको मतदान हुनुअघि ४२ जिल्लाका जिल्ला सभापतिहरुले वक्तव्य जारी गरेर पौडेलको पक्षमा मत मागेका थिए। अहिले शेखरको लागि सार्वजनिक वक्तव्यमार्फत् मत मागिदिने महामन्त्रीका उम्मेदवार गगन थापाबाहेक अरु भएनन्।
रणनीतिविहीन दोस्रो चरणको चाहना
सभापतिका लागि हुने पहिलो चरणको निर्वाचनमा दोस्रो हुने र दोस्रो चरणको निर्वाचनमा पहिलो हुने शेखर समूहको रणनीति थियो। सोहीअनुसार चुनावलाई दोस्रो चरणमा धकेल्न सफल पनि भए। तर, चुनाव दोस्रो चरणमा पुगेमा गर्नुपर्ने आवश्यक रणनीतिक तयारी भने देखिएन।
देउवाप्रति निधि र सिंहमा असन्तुष्टि थियो। उनीहरुले पनि नेतृत्व परिवर्तनलाई नै मुख्य अजेन्डा बनाएका थिए। तर, उनीहरुलाई आफूसँग जोड्न कोइराला असफल रहे।
चुनाव दोस्रो चरणमा पुग्ने निश्चित भइसक्दा देउवानिकटका नेताहरु सक्रिय भइसकेका थिए। देउवानिकट नेता बालकृष्ण खाण बिहानै निधिलाई भेट्न उनको निवास पुगिसकेका थिए। देउवा स्वयंले फोन सम्पर्क गर्न थालिसकेका थिए। 'सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु,' निधिले मंगलबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निश्चय नै, देउवासँग सत्ताको शक्ति पनि छ। उनले त्यसलाई महाधिवेशन प्रतिनिधि चयनदेखि नै प्रयोग गरे। तर, निर्वाचन दोस्रो चरणमा पुग्ने निश्चित जस्तै हुँदा शेखरले भने कुनै पहल गरेको देखिएन। उनले प्रतिस्पर्धी नेतालाई 'कन्भिन्स' गराउनका लागि धेरै विषय हुन्थे। देउवाजस्तो हातहातै अवसर दिने हैसियत उनको नभए पनि सार्थक पहल गर्नै चुके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।