काठमाडौं– एसीसी मेन्स एसियन्स गेम्स छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १२६ रनको शतकीय पारी खेले । ५४ बलमा उनले १४ चौका र ८ छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै आशिफ शेखले पनि ६८ रनको आक्रामक अर्धशतकीय पारी खेले । उनले त्यस क्रममा ७ चौका र ५ छक्का हिर्काए ।
यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा चार छक्का र १ चौका हान्दै ३१ रन बनाए । लोकेश बमले ६ बलमा दुई चौका हान्दै १० रन बनाउँदा सन्दीप जोराले २ छक्काको सहयोगमा १४ बलमा १५ रन बनाए ।
रोहितकुमार पौडेल भने पहिलो बलमै गोल्डेन डकआउट भए । कुशल मल्लले ७ बलमा अविजित ९ रन बनाउँदा करण केसीले ३ बलमा एक छक्काको सहयोगमा ७ रन बनाए । सोमपाल कामी भने एक रनमा अविजित रहे ।
मलेसयाका लागि वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिँदा सैयद अजिजले र रहिम खानले २/२ विकेट लिए । पहिलो खेलमा नेपालले चीनविरुद्ध ३१३ रन बनाएको थियो । उक्त खेलमा नेपाल २२३ रनले विजयी भएको थियो । नेपाल एक खेल अगावै एसियन्स गेममा छनोट भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।