तस्बिर : निमेषजंग राई/नेपाल लाइभ। काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले महाधिवेशनको दौडानमा लागेका घाउहरुमा मलम लगाउने प्रतिवद्धता जनाएका छन्।
महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार काठमाडौंको पार्टीप्यालेसमा बोल्दै थापाले अधिवेशनका क्रममा वडा,पालिका क्षेत्र हुँदै जिल्लासम्म आउँदा घाउहरु लागेको भन्दै मलम लगाउने बताएका हुन्।
‘मेरो चार वर्षे कार्यकाल आजैबाट सुरु भएको छ। अधिवेशनमा क्रममा वडा,पालिका क्षेत्र हुँदै जिल्लासम्म आउँदा घाउहरु लागेका छन्। घाउहरुलाई मलम लगाउँदै यो पार्टीलाई सम्हाल्दै एक ढिक्का बनाएर अझै शक्तिशाली र सुद्दढ बनाएर लिएर जानेछौं,’ थापाले भने।
उनले अब आमजनताबाट सबैले उत्तर दिने कांग्रेस बनाउने बताएका छन्। ‘कतिपय ठाउँमा कांग्रेसले मायाको भारी बोक्न सकेन कि भनेर गुणासो गर्नु भएको छ। सबै शुभचिन्तकहरुलाई अब ती सबै गुणासोबाट मुक्त बनाउने दायित्व लिएर हामीहरु सँगैसँगै जाने छौं,’ उनले भने।
अहिलेपनि मतगणना जारी रहेको बताउँदै थापाले निर्वाचित नहुने साथीहरुको भावनालाई समेत सभापतिले त्यहीँ ढंगले लिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।