काठमाडौं- कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीमा जितेपछि विश्वप्रकाश शर्माले कार्यकर्ताहरुले सबैलाई जोड्ने काम गरेको बताएका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा मतगणना सकिँनै लाग्दा पत्रकारसँग कुरा गर्दै शर्माले कांग्रेसलाई सयौं थुङ्गा फूलको एउटै माला भने झै कार्यकर्ताले जोडेको बताए। 'यो व्यक्तिको जित होइन। गुटको पनि जित होइन’ उनले भने, ‘नेपाली कांग्रेसलाई नयाँ ढङ्गले शुरुवात गर्ने यात्राको प्रारम्भ हो। फरक-फरक विचार समूहमा रहेका सबैलाई समेटेर लैजानुपर्ने छ।'
उनी सुरुमा पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट उम्मेदवार हुने चर्चा चलेको थियो। तर, देउवाले प्रदिप पौडेल र प्रकाशशरण महतलाई रोजेपछि उनी किनारा लागेका थिए। अन्तिम समयमा उनले सभापतिका उम्मेदवार प्रकाशमान सिंहलाई रोजेका थिए। संस्थापन र संस्थापन इतर दुवैको बागीमा उठेका उनले महामन्त्रीमा दोस्रो मतका साथ जित हात पारे।
उनले सुरुमा सुन्दरीजल पुगेर उम्मेदवारी घोषणा गरेका थिए। वीपीको उत्तराधिकारी भएको बताउँदै आएका उनी विजयी भएपछि सुन्दरीजल जाने र आफ्ना कुरा भन्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।