काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ।
कांग्रेस पार्टी कार्यालय सानेपामा साढे १० बजेदेखि मतगणना सुरु भएको हो।
मतगणना तीन ठाउँबाट सुरु गरिएको निर्वाचन समितिले जनाएको छ। मतगणनाको परिणाम चार घण्टामा आइसक्ने जनाइएको छ।
विधान अनुसार कांग्रेसमा दुई महामन्त्री निर्वाचन हुने व्यवस्था छ।
महामन्त्रीका लागि गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ ले मतदान गरेका थिए। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो।
सभापतिमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार पुन: मतदान भएको थयो। उक्त मतदानबाट शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गर्दै सभापति निर्वाचित भएका थिए।
सभापतिको नजिजा आएसँगै अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। दुई उपसभापति पदको बुधबार सम्पन्न मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।