काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा झिनो मतले पराजित भएका विजयकुमार गच्छदारले पुन:मतगणनाको माग राख्ने भएका छन्।
उनी अहिले पुन: मतगणनाको माग राख्न मतगणना भइरहेको सानेपास्थित पार्टी कार्यालयमा आउँदै छन्। उनी निवासबाट सानेपातर्फ निस्केको सुरक्षा स्रोतले जानकारी दिएको छ। त्यसै कारण मतगणना सकिँदा पनि परिणाम अहिलेसम्म घोषणा गरिएको छैन।
निर्वाचन समितिले घोषणा गरिनसकेको भए पनि निर्वाचित गुरुङलाई उनले पाएको मत र गच्छदारले पाएको मतबारे जानकारी गराइसकेको छ।
गच्छदार आउने भएपछि सु्रक्षा व्यवस्था कडा पारिएको छ।
बुधबार राति सम्पन्न मतगणनाको औपचारिक परिणाम घोषणा हुन बाँकी छ। यद्यपि उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्।
खड्का सबैभन्दा धेरै मत ल्याएर विजयी भएका हुन्। गुरुङले भने गच्छदारलाई मात्र दुई मतले पछाडि पारेका छन्। त्यसमा असन्तुष्टि जनाउँदै गच्छदारले पुन: मतगणनाको माग गर्न लागेका हुन्।
दुई जना उपसभापतिका लागि सात जनाबीच प्रतिस्पर्धा भएको थियो। उपसभापतिका अन्य प्रतिस्पर्धीमा चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।