काठमाडौं– दक्षिण अफ्रिकाविरूद्ध खेल्ने भारतीय टेस्ट टिम घोषणा हुनुभन्दा डेढ घण्टाअघि मात्र आफूलाई एकदिवसीय टिमको कप्तान नहुने जानकारी गराइएको विराट कोहलीले बताएका छन्।
दक्षिण अफ्रिका भ्रमणअघि सञ्चारकर्मीसँग कुरा गर्दै कोहलीले यसअघि बीसीसीआईसँग कुनै सम्पर्क नभएको र दक्षिण अफ्रिकामा हुने टेस्ट टोलीका लागि खेलाडी छनोटको डेढ घण्टाअघि नै जानकारी दिइएको बताएका हुन्।
कोहलीले भने, ‘टेस्ट सिरिजका लागि छनोट बैठक हुनुभन्दा डेढ घण्टाअघि सम्पर्क गरिएको थियो।जब मलाई छनोट बैठकअघि फोन आयो, मुख्य चयनकर्ताले मसँग टेस्ट टोलीको बारेमा छलफल गरे, जसमा हामी दुवै सहमत भयौं। र कल समाप्त हुनुअघि मलाई पाँच जना चयनकर्ताहरूले म एकदिवसीय कप्तान नबन्ने निर्णय गरेको भनेका थिए, जसको जवाफ मैले ठीक छ भने।’
कोहलीले थपे, ‘जब मैले टी–२० को कप्तानीबाट राजीनामा दिने निर्णय गरें, त्यसलाई बीसीसीआईले स्वीकार गरेको थियो।’
कोहलीले आफू दक्षिण अफ्रिकाविरूद्धको एकदिवसीय सिरिजका लागि उपलब्ध हुने पनि पुष्टि गरेका गरेका छन्। कोहलीले यसअघि एकदिवसीय सिरिजका लागि बिदा मागेको भन्ने कुरा झुट भएको बताएका छन्।
भारतले कोहलीको स्थानमा रोहित शर्मालाई एकदिवसीय टोलीको नेतृत्व सुम्पिएको छ। यस्तै टी–२० मा पनि रोहित नै कप्तान छन्। दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टेस्ट सिरिजपछि हुने एकदिवसीय सिरिजका लागि कोहलीले बिदा मागेको चर्चा चलेको थियो।
भारतले दक्षिण अफ्रिकाविरुद्ध तीन टेस्ट खेल्दैछ, पहिलो टेस्ट २६ डिसेम्बरमा हुनेछ। त्यसपछि भारत र दक्षिण अफ्रिकाबीच एकदिवसीय सिरिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।