काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपमा सहभागी हुने यू-१९ क्रिकेट टोलीको घोषणा गरेको छ।
बुधबार क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। एसियन क्रिकेट काउन्सिलले आयोजना हुने प्रतियोगिता दुई सातापछि यूएईमा हुनेछ।
यू-१९ एसिया कपको खेल तालिका र समूह विभाजन एसीसीले मंगलबार सार्वजनिक गरेको छ। नेपाली टोलीले पहिलो खेल बंगलादेशसँग खेल्ने छ।
टोलीमा कप्तान खनालसँगै उपकप्तान शेर मल्ल, विवेक यादव, सन्तोष कार्की, अर्जुन कुमाल र प्रकाश जैसी रहेका छन्।
यस्तै, गुलशन झा, आदील अन्सारी, वसिर अहमद, अर्जुन साउद, दीपेश कँडेल, विवेक राना मगर, तिलक राज भण्डारी, दुर्गेश गुप्ता र राहुल भण्डारी टोलीमा समेटिएका छन्।
समूह 'बी' मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन्। यस समूहका खेल शारजाहमा हुनेछ। यस्तै, समूह 'ए' मा भारत, अफगानिस्तान, पाकिस्तान र यूएई छन्। समूह 'ए' का खेल दुबईमा हुने छन्।
यू-१९ एसिया कप पुस ८ देखि १६ गतेसम्म चल्नेछ। नेपालले पहिलो खेल पुस ८ मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ। यस्तै, दोस्रो खेल पुस ११ मा श्रीलंका र अन्तिम खेल पुस १३ मा कुवेतसँग खेल्नेछ।
शीर्ष दुईमा रहनसके नेपालले सेमिफाइनल खेल्नेछ। दुवै सेमिफाइनल पुस १५ मा हुनेछ। फाइनल पुस १६ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।