काठमाडौं– नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरू भएको छ। कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्म सक्ने तयारी छ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार उपसभापतिको मतगणना तीन ठाउँमा भइरहेको छ। 'तीन ठाउँमा मतगणना भइरहेको छ। राति १० बजेसम्म नतिजा दिइसक्छौं', घिमिरेले भने।
दुई जना उपसभापतिका लागि ६ जना (विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्येश्वरी शाह) चुनावी प्रतिस्पर्धामा छन्।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि पर्याप्त ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि मंगलबार पुनः मतदान भएको थियो। मतदानमा शेरबहादुर देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका थिए।
सोमबार नै निर्वाचन भएको पदाधिकारी र केन्द्रीय सदस्यहरुको भने मत गणना गरिएको थिएन। त्यसमध्ये बुधबार उपसभापतिको मत गणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।