फाइल तस्बिर। काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस रुपान्तरणको मुद्दा उठाउन आफू पक्षका नेताहरुलाई आग्रह गरेका छन्।
उनले चर्चित भ्रष्टाचारका काण्डमा न्यायिक छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग बनाउन दबाब दिन पनि आग्रह गरे। साथै, पार्टीमा दोषी देखिएकालाई पनि कारबाही गर्न दबाबु दिनुपर्ने बताए।
‘अहिले चर्चामा रहेका जतिपनि भ्रष्टाचारका काण्डहरु छन्, त्यसमा न्यायिक छानबिन हुनुपर्छ’, नेता शेखर कोइराला समूहले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजन गरेको कार्यक्रममा उनले भने, ‘म जित्नेहरुलाई पार्टीमा प्रस्ताव पेस गर्न र प्रधानमन्त्रीलाई दबाब दिनु आग्रह गर्छु। यसलाई छानबिन गर्नैपर्छ।’
उनले आफ्नो पक्षबाट जित हात पार्नेहरुले पनि यसमा आवाज उठाउन माग गरे। ‘यति नगर्ने हो भने यो पार्टी तस्करहरुको पार्टी हुनेछ’ उनले भने ‘नब धनाड्यहरुको पार्टी हुनेछ। यसका विरुद्ध संघर्ष गर्ने कि नगर्ने? नगर्ने हो भने कसैले पनि राजनीति गर्न नसक्ने परिस्थिति सिर्जना हुन्छ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको आफ्नो झुन्डबाट बाहिर निस्कन आग्रह गरे। उनले नीति र विधिमा पार्टीलाई चलाउन पनि आग्रह गरे।
देशको प्रमुख अंग सबै क्षतविक्षत अवस्थामा रहेको भन्दै उनले सर्वोच्च अदालत, संसद् र कार्यपालिका सबै ठप्प रहेको बताए।
‘सभापतिज्यू हामी तपाईंलाई सहयोग गर्न तयार छौं’, केसीले भने, ‘तपाईं मेरो समकक्षी पनि हो। तपाईं नजिक बस्ने झुण्डहरुका लागि हुनुभयो भने अर्को दुर्दशा हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।