काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नवनिर्वाचित सभापति शेरबहादुर देउवा अब गुटको सभापति बन्न नहुने बताएका छन्।
नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने हो भने देउवा अब गुटको सभापति नभइ सिंगो कांग्रेसको सभापति बन्न सक्नुपर्ने बताए। महाधिवेशनमा मतदान गर्ने मतदातालाई धन्यवाद दिने कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘अब नेपाली कांग्रेसको सभापति हो। गुटको सभापति होइन। बालुवाटार, बूढानीलकण्ठ र पार्टी कार्यालयमा गुटको बैठक राख्दिनँ भन्न सक्नुपर्छ। हिजो बस्ने गर्थ्यो अब त्यसबाट पार्टी सभापतिको यात्रा सुरु हुन्छ की हुँदैन हेर्ने हो’, उनले भने, ‘हामीले केवल पार्टीको हित मात्रै सोच्ने हो। त्यसका लागि हामीले संघर्ष गर्ने हो।’
थापाले आफूहरुले पहिला पहिलाको गुटको बैठकमा प्रवेश समेत नपाएको स्मरण गर्दै अब यस्तो हुन नहुने बताए।
उनले आगामी निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन जित्न सक्ने हिसाबले अघि बढ्नु आवश्यक रहेको बताए। आउने निर्वाचनमा कांग्रेसले जित्छ कि जित्दैन भन्ने मुख्य कुरा रहेको बताए।
उनले निर्वाचनमा कम्युनिस्ट र मधेशवादी दलहरू मिल्छन् कि मिल्दैनन् भन्ने प्रश्न पनि गरे। ‘अबको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बनाउनु पर्छ’, उनले भने ‘त्यसका लागि १० देखि १२ लाख मानिस थप गर्नुपर्ने छ। त्यसका लागि यो हलमा भएका सबै सक्रिय हुनपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।