काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भएको मतदानको गणना गर्नेबारे निर्णय गर्न निर्वाचन समितिको बैठक बस्ने भएको छ।
पदाधिकारी र केन्द्रीय सदस्यतर्फको मतगणना सुरु गर्नेबारे निर्णय गर्न निर्वाचन बुधबार दिउँसो साढे १ बजे समितिको बैठक बस्न लागेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए।
'आज साढे १ बजे निर्वाचन समितिको बैठक बस्दैछ। आजैबाट मत गणना गर्ने पक्षमा छौं' उनले भने।
उनले एक दिन रोकेर भोलि(बिहीबार) बाट मतगणना गर्ने किन भन्ने पनि मत आइरहेको भन्दै त्यसबारे बैठकले निर्णय गर्ने बताए।
'एक दिन रोकेर भोलि बाट गरौं की भन्ने मत पनि छ। तर, निर्वाचन समिति आजदेखि नै सुरु गर्ने पक्षमा छ,' पोखरेलले भने, 'जनशक्तिको व्यवस्थापन गर्न सकियो भने आजदेखि नै उपसभापति र महामन्त्रीको गणना हुन्छ।'
सबै उम्मेदवारको मत गणना केन्द्रीय कार्यालय सानेपामा हुने उनले जानकारी दिए। सोमबार सम्मपन्न निर्वाचन अन्तर्गत सभापतिको मत सोही रात गणना भएको थियो। तर, सभापितका पाँच उम्मेदवार मध्ये कसैले पनि जितका लागि आवश्यक ५० प्रतिशत भन्दा मत नपाएपछि मंगलबार पुन मतदान भएको थियो। उक्त मतदानबाट सभापतिमा शेरबहादुर देउवाले अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका थिए।
देउवाले २ हजार ७ सय ३३ मत पाउँदा कोइरालाले १८५५ मत पाएका थिए।
सभापतिको टुंगो लागिसकेपछि अब उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना गर्न बाँकी छ। २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्य गरी जम्मा १३३ जना निर्वाचित हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।