काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्।
सभापतिको मत परिणाम सार्वजनिक भएपछि बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
सभापति देउवाले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र सङ्गठित बनाएर लैजाने उनले बताए। ‘उहाँ (सभापति देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ,’ उनले भने, ‘राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ।’
कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति बनेका देउवाले महाधिवेशनअन्तर्गत निर्वाचनको प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने, पार्टीको अभियानमा सक्रिय बनाउने तथा पार्टी सभापतिमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेतालाई केन्द्रीय समितिमा समेटेर लैजाने खाणले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।