काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको भन्दा कम मत खसेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो चरणको निर्वाचनमा मतदान गरेका ११५ जना महाधिवेशन प्रतिनिधि दोस्रो चरणको मतदानमा सहभागी भएनन्।
कांग्रेसका महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणको निर्वाचनमा ६४ जनाले मत दिएका थिएनन्। कूल प्रतिनिधि ४ हजार ७४३ जनामध्ये सोमबार भएको पहिलो चरणको निर्वाचनमा ४ हजार ६७९ जनाले मतदान गरेका थिए।
सोमबार भएको मतदानमा सभापति पदका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन: दोस्रो चरणका लागि मतदान भएको हो।
मंगलबारको मतदानमा ४ हजार ५६४ जनाले मतदान गरेका छन्। पहिलो चरणको निर्वाचनमा मतदान गरेका ११५ जनाले दोस्रो चरणको निर्वाचनमा मतदान नगरेको देखिएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ।
सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएर मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी छ।
दोस्रो चरणको मतदानमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला सभापति पदका लागि प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।