फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई आफूले नि:शर्त समर्थन गरेको बताएका छन्।
कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका सिंह पहिलो चरणको मतदानबाटै बाहिरिएका थिए। दोस्रो चरणमा उनले देउवालाई समर्थन गरेका छन्।
पहिलो चरणमा पहिलो र दोस्रो स्थान ओगटेका देउवा र डा शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ। देउवाले प्रधानमन्त्री दिने प्रतिबद्धता जनाएपछि सिंहले समर्थन गरेको कुरा बाहिरिएको थियो। त्यसको खण्डन गर्दै उनले सामाजिक सञ्जाल (फेसबुक)मार्फत् आफूले नि:शर्त समर्थन गरेको प्रस्टीकरण दिएका हुन्।
'नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई नि:शर्त समर्थन गरेको हुँ। निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' उनले लेखेका छन्।
प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका कारण आफूले देउवालाई समर्थन गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।