काठमाडौं- नेपाली कांग्रेसको सभापतिका लागि जारी दोस्रो चरणको मतदानमा २५ सय मत खसेको छ। मतदान सुरु भएको तीन घन्टामा उक्त संख्यामा मत खसेको हो।
जारी महाधिवेशनमा कूल मतदाता चार हजार ७४३ जना रहेका छन्। तर पहिलो चरणको निर्वाचनमा चार हजार ६८१ जनाले मात्र मतदान गरेका थिए।
मतदान राष्ट्रिय सभागृहमा भइरहेको छ। मतदानका लागि सभागृहमा छ वटा बुथको व्यवस्था गरिएको छ। सभापतिका प्रत्यासी शेरबहादुर देउवा र डा शेखर कोइरालाले अहिले मतदानस्थलमै बसेर मत मागिरहेका छन्। उनीहरु समर्थकले पनि आ-आफ्नो पक्षमा माहोल बनाइरहेका छन्।
पहिलो चरणमा देउवा, डा कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको थियो। सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भइरहेको हो।
निर्वाचन साँझ साढे ७ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरे। सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।