काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा साँझ ५ बजेसम्म एक हजार ३०० मत खसेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनमा सभापतिका लागि प्रतिस्पर्धा भइरहेको छ।
राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि छ स्थान कायम गरिएको छ। मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ-आफ्नो पक्षमा मत मागिरहेका छन्।
सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएको हो। मतदानका लागि साँझ ७:३० बजेसम्मको समय व्यवस्थापन गरेको पार्टी केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।