काठमाडौं- पहिलो चरणको निर्वाचनमा जित हासिल गर्न नसकेपछि कांग्रेस महाधिवेशनमा सभापतिको चयन दोस्रो चरणको मतदानबाट हुने भएको छ। नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुनको लागि खसेको मतको पचास प्रतिशतभन्दा बढी प्राप्त गर्नुपर्नेछ।
कुल ४६८१ मत खसेकोमा शेरबहादुर देउवाले २२५८ मत पाएका थिए। खसेको मतमा उनले पाएको मत ४८ प्रतिशत हो। त्यस्तै, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाएका थिए। सबैभन्दा कमजोर देखिएका कल्याण गुरुङले २० मत मात्रै पाए।
दोस्रो चरणको निर्वाचन हुने निश्चित भएपछि सिंह र निधि निर्णायक देखिएका छन्। उनीहरु दुवैले कुनै बेला देउवाका निकटस्थ हुन्। तर, नेतृत्व परिवर्तनको आवश्यकता देखेर आफैं सभापतिको दौडमा सामेल भएका थिए। तर न्युन र निर्णायक मत ल्याएका छन्। उनीहरु दुवैले पाएको मत ६२० छ। उनीहरुलाई मत दिएका सबैले शेखरलाई मत दिएमा दोस्रो चरणमा उनको जित हुनसक्छ।
यतिबेला देउवाले उनीहरुलाई आफ्नो पक्षमा ल्याउनका लागि प्रयास सुरु गरिसकेका छन्। तर सफल भइसकेका भने छैनन्।
देउवाको कामको आलोचना गर्दै र उनको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै आएका सिंह र निधिलाई फेरि उनैलाई सघाउन नैतिक संकट छ। त्यहीमाथि दुवै नेताले सार्वजनिक रुपमै दोस्रो चरणबाट नेतृत्व परिवर्तन हुने बताइसकेका छन्। निधिले आइतबार मात्रै सार्वजनिक अभिव्यक्ति दिएका छन्- 'सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएमा सबै मिलेर देउवालाई हराइन्छ।' सोमबार मतदानपछि प्रकाशमान सिंहले पनि त्यस्तै अभिव्यक्ति दिएका छन्- 'पहिलो चरणमा नतिजा ननिस्केमा दोस्रो चरणमा नेतृत्व परिवर्तन हुन्छ नै।' एकातिर देउवाविरुद्ध आफैं उम्मेदवार भएको र अर्कोतिर सार्वजनिक अभिव्यक्ति समेत दिएकाले उनीहरु देउवाको विपक्षमा उभिने आकलन गरिएको छ।
त्यसो त, कोइराला पक्षको रणनीति नै निर्वाचनलाई दोस्रो चरणसम्म लैजाने र देउवाबाहेकका शक्तिहरु एक ठाउँमा उभिने भन्ने थियो। सो पक्षले चाहेजस्तो अवस्था आएको छ। तर शेखरलाई पनि उनीहरुलाई आफ्नो पक्षमा ल्याएर सबै मत आफैंलाई दिलाउनु चुनौतीपूर्ण छ। किनकि, उनीहरु सबैको मत जोड्दा पनि आवश्यकताभन्दा ८ मत मात्रै बढी हुनेछ। जुन ढुक्क हुनुपर्ने तथ्यांक होइन।
तर देउवा र शेखरले उनीहरुसँग कसरी संवाद गर्छन् र आगामी दिनमा कसको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट प्रस्ताव लैजान्छन्, त्यसैले धेरै कुरा निर्धारण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।