काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका लागि कसैले पनि आवश्यक मत पुर्याउन सकेनन्।
जितका लागि आवश्यक पचास प्रतिशत मत कटाउन उम्मेदवारहरु असफल भएपछि दोस्रो चरणको चुनाव हुने भएको छ।
पहिलो चरणमा सबैभन्दा बढी भोट पाएका शेरबहादुर देउवा र शेखर कोइराबीच दोस्रो चरणमा चुनाव हुने भएको हो। पहिलो चरणमा प्रतस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिका साथ कल्याण गुरुङ रेसबाट बाहिरिएका छन् ।
अब सभापतिको दौडबाट बाहिरिएका प्रतिस्पर्धीहरुले कुन पक्षलाई सहयोग गर्छन् भन्ने चासो रहेको छ।
यसैबीच, सभापतिको दौडबाट बाहिरिएसँगै निधि र सिंहबीच फोन संवाद भएको छ। दोस्रो चरणको मतदानबारे भेटेर छलफल गर्ने निर्णय दुई नेताबीचको फोन संवादमा भएको स्रोतको भनाइ छ।
त्यसअघि मंगलबार विहान शेरबहादुर देउवा निकटका नेता बालकृष्ण खाणा सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। उनलाई सिंहले आफ्नो समूहमा छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए।
दोस्रो चरणको मतदान आजै गर्ने तयारी गरिएको छ।
पहिलो चरणमा जित नजिक रहेका शेरबहादुर देउवालाई जितका लागि ८३ मत पुगेन। ४६८१ मत खसेकोमा सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाएका थिए। उनले पाएको मत ४८.२३ प्रतिशत हो। दोस्रो बनेका शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए। प्रकाशमानले ३७१ मत पाउदा अर्का उम्मेदवार विमलेन्द्र निधिले २४९ मत पाए। सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले २० मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।