काठमाडौं- नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । तर, सभापतिका पाँच उम्मेदवार मध्ये कसैले पनि जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत पाउन सकेनन्।
जित नजिक रहेका शेरबहादुर देउवालाई जितका लागि ८३ मत पुगेन। ४६८१ मत खसेकोमा सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाएका थिए। उनले पाएको मत ४८.२३ प्रतिशत हो। दोस्रो बनेका शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए।
प्रकाशमानले ३७१ मत पाउदा अर्का उम्मेदवार विमलेन्द्र निधिले २४९ मत पाए । सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले २० मत पाएका थिए।
कसैले पनि पहिलो चरणमा जितका लागि आवश्यक मत नपाएपछि देउवा निकटका नेता बालकृष्ण खाण मंगलबार बिहान प्रकाशमान निवास चाक्सीबारी पुगेका थिए।
दोस्रो चरणको निर्वाचनमा देउवापक्षलाई सहयोग गर्न आग्रह गर्दै उनी चाक्सीबारी पुगेका हुन् ।
भेटमा नेता सिंहले आफ्नो समूहमा छलफल गरेर जानकारी गराउने जवाफ दिएको उनी निकट स्रोतको भनाइ छ।
दोस्रो चरणको मतदानमा प्रकाशमान निर्णायक देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।