काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदानको प्रक्रिया पूरा हुन अझै १ घण्टा लाग्ने भएको छ।
सोमबार दिउँसोदेखि सुरु भएको मतदानको समय तेस्रो पटक थपिँदा पनि मतदान पक्रिया लम्बिने भएको हो।
पछिल्लोपटक साढे ११ बजेसम्म मतदान सक्ने गरी तेस्रोपटक समय थपिएको थियो। तर, साढे ११ बजेसम्म पनि केही मतदान केन्द्रमा मतदान जारी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए।
अब बाँकी रहेका मतदाता (महाधिवेशन प्रतिनिधि)हरुले मतदान गरिसकेपछि मतदानको सबै पक्रिया राति साढे १२ बजेसम्म पूरा हुने आकलन गरिएको उप्रेतीले जानकारी दिए।
केही मतदान केन्द्रमा भने मतदान सकिएर मुचुल्का उठाएर मतपेटिकाहरु सिलबन्दी गर्न थालिएको उनले जानकारी दिए।
निर्वाचन समितले यसअघि सोमबार बिहान ८ बजेदेखि नै मतदान गर्ने भनेको थियो। मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो। त्यसपछि पनि सुरु भएको मतदान बेलुका ७ बजे मतपत्र अपुग भएपछि केहीबेर रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।