काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि भएको मतदानमा तीन हजार ५०८ मत खसेको छ।
कांग्रेसको सोमबार १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ७:४५ बजेसम्म तीन हजार ५०८ मत खसेको हो।
एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार १०० र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा दुई हजार ४०८ मत खसेको हो।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ। कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ। १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।