काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतपत्र सकिएर रोकिएको मतदान पुन: सुरु भएको छ।
नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो १२ बजेदेखि मतदान सुरु भएको थियो। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई गरी तीनवटा मतदान केन्द्रमा मतदान भइरहेको छ। तर, मतपत्र सकिएपछि दुई पटक मतदान रोकिएको थियो। मतपत्र ल्याएपछि पुन: मतदान सुरु भएको निर्चाचन समितिले जानकारी दिएको छ।
साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरिसकेका छन्। यस महाधिवेशनमा कूल चार हजार ७४३ प्रतिनिधि (मतदाता) रहेका छन्।
कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
मतपत्र लामो हुँदा मतदानका लागि एक जना प्रतिनिधिलाई करिब आधा घण्टाभन्दा बढी समय लागेको छ। जसले मतदान अवधि लम्बिन पुगेको छ। यसअघि तोकिएको समयमा मतदान नसकिएपछि राति ९ बजेसम्मका लागि मतदानको समय लम्ब्याइएको छ।
यसअघि बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।