काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा हालसम्म १३६५ जनाले मतदान गरेका छन्।
महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यका अनुसार अनुसार ४ हजार ७४३ प्रतिनिधि (मतदाता) मध्ये दिउँसो ३:४० बजेसम्म १३६५ जनाले मतदान गरेका हुन्।
राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा ५१३, भृकुटीमण्डपभित्र रहेको मतदान केन्द्रमा ३५२ र भृकुटीमण्डपबाहिर रहेको मतदान केन्द्रमा ५०० मत खसेको निर्वाचन समितिले जनाएको छ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ।
बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिएपनि मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो।
कांग्रेसको भावी नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।
यस्तै, महामन्त्रीका लागि गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।