काठमाडौं– नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन केन्द्रीय सदस्यदेखि प्रदेश पदाधिकारी र सदस्यहरुले दाबी पेस गरेका छन्। प्रदेश अध्यक्ष भएमा स्थानीय तह र प्रदेश सदस्य टिकटमा हाबी हुन पाइने भएपछि नेताहरू बरु केन्द्रीय सदस्य छोड्न तयार भएका हुन्।
हालका प्रदेश अध्यक्ष शरदसिंह भण्डारी र सचिव देवीलाल चौधरी दुवैले अध्यक्षमा दाबी गरेका छन्। दुवै नेता माओवादीको प्रदेशमा कमिटीमा मात्रै छन्।
यस्तै, केन्द्रीय सदस्य वीरमान चौधरी, नेबहादुर चौधरी, हरिलाल चौधरी, नरेन्द्र कुँवरले अध्यक्षमा दाबी छोडेका छैनन्। हरि ज्ञवालीले पनि प्रदेश अध्यक्षमा र ओमविक्रम भाट ‘सरल’ले सचिव पदमा दाबी गरेका छन्।
प्रदेश अध्यक्ष हुने आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्य बाहेक वा यसअघिका अध्यक्षलाई कायम राखेर जानुपर्ने मत बलियो हुँदै गएको बैठकमा सहभागी एक नेताले बताए।
त्यसो नभएमा प्रदेश सदस्य मात्रै टुंगो लगाएर त्यहीँबाट मतदान गरेर टुंगो लगाउनु पर्नेमा कतिपय नेताहरु पुगेका छन्। प्रदेश सदस्य र पदाधिकारी कसरी टुंगो लगाउने भन्ने विषयमा इन्चार्ज खगराज भट्ट लगायत नेताहरु छलफलमा जुटेको बताएको छ।
आइतबार बन्दसत्र, प्रतिवेदनमाथि समूह बनाएर छलफल गरेपछि आज मात्रै प्रदेश सदस्य र पदाधिकारी टुंगो लगाउन छलफलमा जुटेका छन्। सुदूरपश्चिम प्रदेशमा सबै समुदायको प्रतिनिधित्व गराउनु पर्ने भएकाले अध्यक्ष र सचिव फरक फरक समुदायको बनाउनु पर्ने बाध्यता रहेको नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।