काठमाडौं- नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पार्टीको आन्तरिक निर्वाचन प्रणाली फेर्नुपर्ने बताएका छन्। गृहमन्त्रीसमेत रहेका खाणले निर्वाचन प्रणालीमा समस्या रहेकोतर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।
कांग्रेसको जारी १४औं महाधिवेशनको मतदानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले सभापतिमा संस्थापनतर्फका शेरबहादुर देउवा पहिलो चरणमै विजयी हुने दाबी गरे।
महामन्त्री पदको आकांक्षी रहेका उनी केन्द्रीय सदस्यमा निर्वाचनको प्रतिस्पर्धामा रहेका छन्। संस्थापनपक्षले कृष्ण सिटौलापक्षसँग सहकार्य गरेपछि उनी महामन्त्रीबाट पछि हट्न बाध्य भएका थिए। सिटौलापक्षका प्रदीप पौडेल देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका छन्।
महामन्त्री नपाएको विषयमा पत्रकारले राखेको प्रश्नमा उनले आफू दु:खी नभएको बताए। ‘सिटौलापक्षलाई महामन्त्री दिएर म दुःखी छैन,’ उनले भने, ‘सभापतिका केही बाध्यतालाई बुझ्नुपर्छ। सिटौलापक्षसँग सहकार्य गर्नुपर्छ भन्ने मान्यता मेरो पनि हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।