नेपाली कांग्रेस बडेमानका हरिया टंयाकी थापेर १४ औं महाधिवेशन सम्पन्न गर्न तम्तयार छ। यसपालि महाधिवेशनमा विचार र बहस हरायो। कांग्रेसले विचार र बहस पछि गरौंला है भन्यो। विचारलाई उधारोमा राखेर पार्टी सीधै विरासतको ‘हिरासत’भित्र पस्यो। त्यससँगै जन्मिएका नयाँ–नयाँ गुटको दलदलभित्र फस्यो। विरासतको ‘हिरासत’ले आजित बनाएपछि चुनावी खेलमा भाग नलिएर रामचन्द्र पौडेल ‘म्यान अफ दि म्याच’ बने। पदको भागबण्डा नमिलेपछि कांग्रेसका परम्परागत र स्थायी गुटहरु अचानक हावाहुरी आएझैं भत्किए।
स्थायी गुटहरु तितरवितर भएर नयाँ गुट जन्मने क्रममा ‘यतै लात्ताले पुक्क, उतै लात्ताले पुक्क’ हानिने ‘बैगुनी’ खेलहरु छताछुल्ल भए। यो बैगुनी खेलमा अटेनन् कांग्रेसका पुराना नेता महेश आचार्य। समाउने कुनै गुटगत हाँगो नभए पनि फेदैमा उभिएर भएपनि उनले उपसभापति पदको उम्मेदवारी दिएका छन्। गुटको दलदल र विसारतको हिरासतलाई नै अन्तिम सत्य मानेर महाधिवेशन प्रतिनिधिले भोट हाल्छन् या फेदमै उभिएका महेशको राजनीतिक आर्दशलाई न्याय गर्छन्, त्यो चाहिँ हेर्न बाँकी छ।
कांग्रेस महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि भोट माग्ने क्रममा अनेकन् झाँकीहरु देखिए। कसैले नाचीनाची भोट मागे। कोही सिंगो रुख नै गाडीमा बोकेर हिँडे। कसैले वाइफाइ हटस्पट बनाएर पासवर्डमा आफ्नो नाम राखेर पासवर्ड लेखिएको पर्चा बाँडे। कसैले छाताभरि पोष्टर टाँसेर त कसैले आफ्नो ‘कटआउट’ चित्र (सर्लक्क मान्छेजस्तो चित्र) बोकेर हिँडे। कतिले आकासे पूलमा समेत फ्लेक्स झुन्ड्याएका छन्। यो तामझाम, रामरमिता र केही हदसम्म ‘सस्तो’ प्रचारबाजीमाझ महेश आचार्यको हस्तलिखित पत्र सामाजिक सञ्जाल र अनलाइनहरुमा देखिएको छ। सफा अक्षरमा सफा राजनीतिक चरित्र भएको मान्छेले लेखेको चिठी।
महेश सत्ता राजनीतिमा नबिटुलिएका पात्र हुन्। सत्तामा जाँदा गतिलो काम के गरे भन्दा पनि अगतिलो काम चाहिँ गरेनन् भन्नु नै नेपाली राजनीतिमा गर्वको विषय भएको छ। उनी त्यही कमसल गर्वानुभूतिका एक आम र साधारण पात्र हुन्। यस्ता पात्रहरु अरु पार्टीमा पनि छन्। यति हुनु नै हाम्रा लागि ठूलो कुरोजस्तो भएको छ। ‘लुटेर खाँदैन है, ठगेर खाँदैन है’ भन्न पाउनु नै ठूलो कुरो जस्तो भएको छ।
यसपालि महेशको भागमा गुटको छाता मिलेन। गुटमा नअट्नेहरु अरु पनि धेरै छन्। आफूले खोजेको पद नपाएपछि त्योभन्दा सानो पद लिएर भए पनि गुटको छाता ओढ्नेहरु बाक्लै छन्। रुँदै, कराउँदै, गुम्सिँदै, सुक्सुकाउँदै, सराप्दै गुटभित्रै बस्नेहरु बाक्लै छन्। उपसभापतिभन्दा तलको पद खोजेको भए कुनै न कुनै गुटले उनलाई पनि छाता पक्कै ओढाउँथ्यो होला। आफू उपसभापति किन बन्नु जरुरी छ भनेर स्पष्ट सन्देश दिएका महेशले जबरजस्ती गुटभित्र खाँदिएर जसोतसो राजनीति गर्ने रहर गरेनन्। त्यसैले त उनी रुखको फेदमा उभिएर हस्तलिखित चिठी बाँडिरहेका छन्। तडकभडक प्रचारको छायाँमा परेपनि आफ्नो अर्थपूर्ण आवाज सुनाइरहेका छन्।
उनको छोटो चिठीले भन्छ– ‘राष्ट्रिय संकटको यो घडीमा पार्टी विचारशून्य भयो, नीतिगत बहस र अग्रसरतामा चुक्यो भने के हुन्छ? मतदान गर्न जाँदा विचार रोज्ने कि गुट? तपाईंको विवेकले उचित निर्णय गर्नेछ।’ उनको चिठीबाट बुझिन्छ, उनी पार्टीमा नीतिगत बहस चलाउन सक्ने पद चाहन्छन्। वैचारिक बहसको अनुशासन नखल्बलियोस् भन्ने चाहन्छन्। पार्टी विचारशून्य बन्यो भने संसदीय राजनीतिको अस्थिरताबाट लाभ उठाउने पार्टी मात्र बन्छ भन्ने कुरा रामचन्द्र पौडेलको विज्ञप्तिमा पनि उल्लेख छ। यस हिसाबले रामचन्द्र पौडेल र महेश आचार्य एकै कित्तामा भिएका छन्। दुवैले वैचारिक बहस बहकिएकोले कांग्रेस विकृति बेचेर खाने पार्टी बनेको भन्दै चिन्ता ब्यक्त गरेका छन्।
रामचन्द्र पौडेलले कुनै पनि पदमा उम्मेदवारी नदिने निर्णय लिएर असल काम गरेका छन्। उता र यताको गुट मिलाएर विरासतको काँध थापेर बस्न अब उनलाई सुहाउँदैन। उनले असफल प्रयत्न गरेका चाहिँ हुन्। उनी सभापतिका लागि स्वाभाविक उम्मेदवार थिए, तर विरासतवालाहरुले अस्वाभाविक बनाइदिए। आफू स्वीकार्य नभएपछि त्यो प्रयासमा असफल हुनु नै उनका लागि उचित थियो। भागबण्डाको विकृत राजनीतिमा उनले आफ्नो स्थान अचानक उचो बनाएका छन्। अब उनी गुटको दलदल र विरासतको ‘हिरासत’भित्र नपसून्। भोट पनि नहालून, कुनै गुटको समर्थन पनि नगरुन्। मनोनित केन्द्रीय सदस्य हुने, आफ्ना मान्छेका लागि भाग खोजिदिने लोभ पनि नगरून्।
लोभ र लाभको राजनीतिमा पौडेल परैबाट प्रष्ट सुनिने र देखिने नेता भएका छन्। तर, उनले महेश आचार्यका लागि चाहिँ भोट मागिदिऊन्। महेश आचार्य कुनै पनि गुटको दलदलमा छैनन्। पारिवारिक विरासतको हिरासतमा पनि कैद छैनन्। फेदमा उभिएर हाते चिठी बाँडिरहेछन्। उनले उपसभापति जिते भने वैचारिक बहस बहकिन दिने छैनन् भन्ने आश गर्न सकिन्छ। त्यसकारण अरुका विषयमा मौन बसेर रामचन्द्र पौडेलले उनका लागि मत मागिदिनु न्यायोचित देखिन्छ।
कांग्रेसमा वैचारिक बहस बहकिएकाले नै होला, विकृति बटुलेर भाग खाने पार्टी बनेको होला। केपी ओली प्रधानमन्त्री छँदा कांग्रेस लुसुक्क बालुवाटार पसेर आफ्नो भाग खुसुक्क खाने चरम विकृत प्रतिपक्ष बन्यो। अहिले प्रधानन्यायाधीशका लागि मन्त्रिपरिषदमा भागै छुट्याइदिने चरम तमासे पार्टी बनेको छ। न्यायालयमा न्याय हडताल चलिरहँदा पनि होलटाइमर तमासे बनेको छ। यो तमासालाई प्रश्न गर्न सक्ने र पिँधदेखि वैचारिक बहस चलाउन सक्ने सारथीको काम महेशले पक्कै गर्न सक्छन्। तर, गुटको राजनीतिमा बाँधिएका कांग्रेसी नेता–कार्यकर्ताले महेश आचार्यलाई घनश्याम भुसाल बनाउने खतरा चाहिँ छ। उनीहरुका लागि विजय गच्छदार वा अरु नै पात्र प्रिय हुन सक्छन्। यसो नहोस् भन्नका लागि रामचन्द्र पौडेलले बेलैमा नेता–कार्यकर्तालाई आह्वान गर्न जरुरी छ। पार्टी सत्ताको भर्याङ मात्र भयो, संसदीय विचलनमा रमाउने विचौलिया भयो भनेर चित्त दुखाउने नेताले फेदमा एक्लै उक्लिएका असल नेतालाई रुख चढाउन किन रहर नगर्ने? गुट र विरासतको विरुद्धमा बोल्ने आँट गरेका पौडेलले महेशका लागि भोट किन नमाग्ने?
महेशको चिठी भृकुटीमण्डपको भीडमा हराउनु हुँदैन। सामाजिक सञ्जाल र अखबारमा मात्र पाएको मायाले पार्टी बच्दैन। पार्टी बन्दैन। नेताको गुटमा नअटेका एउटा असल नेतालाई कार्यकर्ताले ‘कांग्रेसी घनश्याम भुसाल’ नबनाऊन्। एउटा प्रजातान्त्रिक पार्टी विचौलिया र माफियाको मैदान बन्नु लोकतन्त्रको स्वास्थ्यका लागि उचित होइन। वैचारिक प्रश्न गर्ने मान्छे बाहिरै परे पार्टीभित्र नयाँ–नयाँ राजाहरु जन्मिन्छन्। ती राजाहरुले प्रजातन्त्र सिध्याउँछन्।
कांग्रेसमा पैसाका खेलाडीहरुको कमी छैन। सत्ताका खेलाडीहरुको कमी छैन। गुटका खेलाडीहरुको कमी छैन। विरासत बेचेर खाने र पार्टीलाई आफ्नै पुर्खाको विर्ता सम्झने खेलाडीहरुको कमी छैन। तर, वैचारिक खेलाडीहरुको चाहिँ कमी छ। वैचारिक खेलाडीहरुको कमी भएकैले प्रतिपक्षमा बस्दा पनि भाग खोजेर खान्छ कांग्रेस। सत्ता, प्रतिपक्ष सबैतिर भाग खोजेर खाने, मन्त्रिपरिषद्मा समेत न्यायालयलाई भाग छुट्याउने कांग्रेसलाई वैचारिक बहसले सुधार्न महेश र महेशहरुले जित्नुपर्छ। उनको चिठीको चिर्कटो कार्यकर्ताको मनभित्र पस्न सक्ला नसक्ला, आम सर्वसाधारणको मनभित्र चाहिँ पक्कै पसिसक्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।